कपिलवस्तु र रुपन्देहीका पाँच जना बालबालिकाहरूलाई ०७६ कात्तिक ९ गते भारतको गोरखपुरस्थित राजकीय बालगृहबाट शान्ति पुनःस्थापना गृह कपिलवस्तुले उद्धार गरेको छ ।
उद्धार गरिएका बालबालिका नौ वर्षदेखि १५ वर्ष उमेर समूहका रहेका छन् । कपिलवस्तुका तीन जना बालक र रुपन्देहीका दुई जना बालिका रहेका छन् ।
भारतको गोरखपुरस्थित बालगृहबाट शान्ति पुनःस्थापना गृहको पहलमा उद्धार गरी कृष्णनगर कार्यालयबाट परिवारलाई बुझाइएको छ ।
उनीहरू विभिन्न समयमा घरबाट हराएका थिए । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका १२ वर्षीय बालक र शिवराज नगरपालिकाका १३ वर्षीय बालक ०७६ असोज २० गते कृष्णनगरबाट हराएका थिए ।
रुपन्देही सिदार्थनगर नगरपालिकाकी १४ वर्षीय बालिका र वुटवल उपमहानगरपालिकाकी १५ वर्षीया बालिका पनि सुनौलीबाट गत असोज १५ गते हराएका थिए ।