दशैँ सकिएको छ । तिहारको मुखमा दुई ओटा डिपो र तीन ओटा विक्री केन्द्रमा खाद्यान्नको अभाव भएको छ ।
स्थल मार्ग भएर आउनु पर्ने विक्री केन्द्र र डिपोमा चामल नहुँदा यो वर्षको दशैँ र तिहारमा जिल्लाका पाँच ओटा गाउँपालिकाका नागरिकलाई दशैँ खल्लो भयो भने तिहार पनि त्यस्तै स्थितिमा पुगिसकेको छ ।
अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड गाउँपालिकाको सर्केगाड डिपो, चङ्खेली गाउँपालिकाको देउली विक्री केन्द्र, ताँजाकोट गाउँपालिकाको छप्रेला विक्री केन्द्रमा खाद्यान्न अभाव रहेको हो ।
यो वर्ष मात्र खार्पुनाथ गाउँपालिकामा नयाँ विक्री केन्द्र स्थापना गरिएता पनि पाँच ओटै गाउँपालिकामा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयले स्वीकार गरेको छ ।
सबै डिपो र विक्री केन्द्रहरूमा १ हजार १ सय क्वीन्टलका दरले चामल आउने गरेको भए पनि, भनेजति चामल नआएपछि हुम्लाका करिव ३५ हजार मानिस खाद्यान्नबाट वञ्चित भएका छन् ।
गत वर्ष झैँ यो वर्ष पनि सर्केगाड गाउँपालिका स्थानीय नागरिकहरू भातविनाकै दशैँ र तिहार मनाउनु पर्ने भएको सर्केगाड गाउँपालिकाका स्थानीय भक्तराज ऐडीले गुनासो गरे ।
उनले भने–‘सर्केगाड डिपोमा चामल नपुग्दा गाउँ घरका बालबालिका, ज्येष्ठ नागरिकलाई विशेष गरेर समस्या हुने गरेको छ ।’
यो वर्ष पनि भातको सट्टा रोटी खाएर दशैँ र तिहार मानाउनु पर्ने भएको अदानचुली गाउँपालिकाका स्थानीय सन्देश ऐडीले बताए । वर्षै पिच्छे भात नखाएर रोटीले दशैँ तिहार खल्लो हुने गरेको ऐडीले बताए ।
अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भएता पनि चामल नहुँदा त्यहाँका कर्मचारीले समेत यो वर्षको दशैँ तिहार भातविना मनाउनुपर्ने भएको छ ।
दशैँसम्म चामल पुग्छ भनेर कर्मचारी तयारी अवस्था रहेता पनि चामल नपुग्ने निश्चित भएपछि दुई ओटा डिपोका कर्मचारी पनि दशैँतिहार मनाउन घर गएका छन् ।
स्थानीय सरकारले स्थलमार्गबाट चामल ढुवानी गर्ने भनेतापनि नेपाल खाद्य संस्थानले टेन्डर प्रक्रिया ढिलो गर्दा यो दशैँमा चामल नपुगेको सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशि धामीको भनाई छ ।
खाद्य संस्थानले टेन्डर प्रकृया ढिलो गर्दा दशैँमा चामल पुर्याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिए ।
असोज ८ गतेसम्म सम्झौता गर्ने अन्तिम समय भएतापनि अन्य प्रकृया बाँकी रहेकाले दशैँमा चामल पुर्याउन नसकिएको ठेकेदार भण्डारीको भनाई छ ।
उनका अनुसार यस वर्षको टेन्डर प्रकृया नै ढिला भएकाले आफू मात्र नभई अरु ठेकेदारहरूले पनि सो डिपो र विक्री केन्द्रहरूमा चामल पुर्याउन सकेका छैनन् ।
असारको अन्तिम साताबाट दक्षिण क्षेत्रमा रहेका दुई ओटा डिपो र तीन ओटा विक्री केन्द्रमा चामल नहुँदा डिपो र विक्री केन्द्र खाली रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।
ठेक्का प्रकृया केही ढिलाई भएकाले ठेक्का प्रकृया पुरा भई ठेकदारहरूले असोज ८ गते सम्झौता गरी तिहार सम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको शाखा प्रमुख विष्टले बताए ।
आर्थिक वर्ष ०७५/७६ को नेपाल खाद्य संस्थानले टेन्डर प्रकृया ढिलो गरेका कारण जिल्लाको दक्षिण क्षेत्रमा रहेका पाँच ओटा गाउँपालिकामा चामल नपुगेको शाखा प्रमुख विष्टको भनाई छ ।
नेपालीहरूको महान चाड पर्वमा चामल नपुगेता पनि तिहार सम्ममा चामल पुर्याउने लक्ष्य लिएको खाद्य संस्थान पुनः तिहारमा पनि चामल नपुग्ने निश्चित भएको प्रमुख विष्टले बताए । उनले भने–‘यसका लागि जति सक्दो छिटो पुर्याउने कोसिश गर्ने छु ।’