INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यानका कैदीबन्दीका लागी निःशुल्क स्वास्थ्य शिविर

सल्यान जिल्ला कारागारका कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ । असोज २६ गते आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८० भन्दा बढि कैदीबन्दीले स्वास्थ्य परीक्षण गरेका थिए ।

कैदीबन्दीहरूले उच्च रक्तचाप, न्यून रक्तचाप, पिसाव परीक्षण, रगत परीक्षण, मानसिक समस्या, भाइरल ज्वरो सुगरलगायतका समस्याहरुको परीक्षण गरेका थिए ।

उनीहरूको स्वास्थ्य परीक्षणको रिपोर्टका आधारमा उपचारमा सहयोग गरिने नेविसङ्घ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले बताए ।

विविध कारणले रोग लुकाएर बस्नुपर्ने अवस्थाका कारण समयमै उपचार हुन नसकेका कैदीबन्दीका लागि शिविरले ठुलो सहयोग गरेको जेलर बलबहादुर केसीले बताए ।

यस्तै स्वास्थ्य शिविरका कारण आफूहरूलाई स्वास्थ्य सेवा पाउन सहज भएको कैदीबन्दीहरूले बताएका छन् । पहिलेको तुलनामा कैदीबन्दीहरू पनि समाजकै मानिस हुन् भन्ने भावनाको विकास हुँदै आएको बन्दी जयन्ती हमालले बताइन् ।

स्वास्थ्य जाँच गरेका मध्ये उक्त रक्तचापका आठ जना, भाइरल ज्वरोका सात जना, महिलासम्बन्धी समस्याका तीन जना, मानसिक समस्याका दुई जना, आँखाको समस्याका एक, पिसावसम्बन्धी समस्याका तीन जना लगायतका बिरामी भेटिएका हुन् ।

कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण शारदा मेट्रो अस्पताल प्रालि श्रीनगरका महिला रोग तथा वरिष्ठ फिजिसियन डाक्टर मानबहादुर केसी नेतृत्वको टोलीले गरेको थियो ।

सुगरको रिपोर्ट आएपछि सबै विरामीहरूको जानकारी गराउने शारदा मेट्रो अस्पताल प्रालि श्रीनगरका सञ्चालक समिर केसीले बताए ।

शारदा मेट्रो अस्पताल प्रालि श्रीनगरको प्राविधिक सहयोग र नेपाल विद्यार्थि सङ्घ सल्यानको आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

जिल्ला कारागार सल्यानमा अहेवको दरवन्दी भएपनि कर्मचारी समायोजनपछि सो पद रिक्त छ । हाल जिल्ला कारागार सल्यानमा १ सय १५ जना कैदीबन्दी रहेका छन् ।

अन्य

भिडियो