‘नेपालका लागि नेपाली’ अभियानका सदस्य ज्ञानेन्द्र शाहीलाई असोज ११ गते शनिबार भरतपुर महानगरपालिका–१० स्थित होटल ग्लोवल अगाडि कुटपिट भएको छ ।
‘भ्रष्टाचार र लुटतन्त्र विरूद्ध नागरिक खबरदारी’ कार्यक्रममा सहभागी हुन असोज ११ गते नै चितवन आएका शाहीलाई रड, ढुङ्गा र इँटाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
चौविसकोठीको होटल ग्लोबलमा पार्किङ गरी राखेको ना ३ ख ८४५८ नम्बरको माइक्रोबस भित्र बसेको अवस्थामा शाहीलाई कुटपिट गरेको प्रहरीको भनाई छ ।
कुटपिट भएको केही समयमा नै घटनास्थलमा पुगेको प्रहरीले शाहीलाई उद्दार गरेको छ । उपचारका लागि सुरूमा उनलाई चितवन मेडिकल कलेज लगिएको थियो ।
थप उपचारका लागि मेडिकल कलेजले काठमाडौँ रिफर गरेको छ । शाहीको टाउको र हातमा चोट लागेको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।
तर, अनुसन्धानपछि मात्रै नाम सार्वजनिक गर्ने उनले बताए । संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले शाहीलाई अपरिचित व्यक्तिहरूको समूहले कुटेको जनाएको छ । चौविसकोठीमा आयोजना भएको खबरदारी कार्यक्रममा नेकपाका कार्यकर्ताहरूले हस्तक्षेप गरेका थिए ।
सोही समूहले शाहीलाई कुटपिट गरेको जनाइएको छ । कार्यक्रममा नेकपाका कार्यकर्ताले हस्तक्षेप गरे लगत्तै शाहीविरूद्ध नाराबाजी गरेका थिए । माहोल बिग्रिएपछि प्रहरीले दुवै समूहलाई तितरवितर पारी कार्यक्रम गर्न निषेध गरेको थियो ।


