प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सूचना माग्ने अधिकार रहने भएकाले आफ्नो अधिकारको बारेमा बुझ्न पाउनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् ।
सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा असोज ११ गते काठमाडौँमा निकालिएको प्रभातफेरी कार्यक्रमको समापनमा यस्तो बताएका हुन् ।
सूचनाको हकका लागि नागरिक अभियानको संयोजनमा निकालिएको प्रभातफेरी र्यालीमा इन्सेकलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि व्यानरसहति सहभागी थिए ।
नेपालको संविधानको धारा २७ मा सूचनाको हक संरक्षण गरिएको छ । यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को व्यवस्था गरिएको छ ।
यस वर्षको सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको नारा सूचनाको हकः हाम्रो अधिकार रहेको छ ।
काठमाडौँको भृकुटी मण्डपबाट असोज ९ गते बिहान सुरू भएको प्रभातफेरी भद्रकाली, सुन्धारा, रत्नपार्क पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डममा आएर समापन गरिएको थियो ।
समापन कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका महासचिव रामप्रसाद सुवेदीले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने बताए । सूचनाको हकलाई राष्ट्रको ऐनाका रूपमा लिन सकिने उनको भनाई छ ।
सूचनाको हकसम्बन्धी अभियन्ताहरूले सन् २००२ बाट यो दिवस मनाउन थालिएको बताउँदै अभियन्ता तारानाथ दाहालले पारदर्शिता, जबाफदेहीता र सुशासनका लागि सूचनाको हकले मद्दत पुर्याउने बताए ।







