रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्काशन गरिएका पत्रकारहरूको पुनर्वहालीको माग राख्दै सिंहदरबार धर्ना दिन गएका नौ जना पत्रकारलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेहरूमा नेपाल पत्रकार महासङ्घका सचिव सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका-३ का ४५ वर्षीय रामप्रसाद दाहाल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य कालिकोट जिल्ला सान्नीत्रिवेणी गाउपालिका-१ का ४० वर्षीय जन्मदेव जैसी, डोटी जिल्ला बोकटान गाउँपालिका-७ का ३९ वर्षीय मीन बम, बाग्लुङ जिल्ला जैमुनी नगरपालिका-८ का ३५ वर्षीय दिलिप पौडेल, डोटी जिल्ला शिखर नगरपालिका-८ का ३८ वर्षीय योगेन्द्र वलायर, डोटी जिल्ला बोगटान गाउँपालिका-६ का ३० वर्षीय प्रकाश वम, डोटी जिल्ला बोगटान गाउँपालिका-५ का ३६ वर्षीय चक्र कुँवर, बाग्लुङ जिल्ला जैमुनी नगरपालिका-१ का ४५ वर्षीय यम बिरही र दोलखा जिल्ला भिमेश्वर नगरपलिका-१ का ४५ वर्षीय अजयबाबु शिवाकोटी रहेका छन् ।
निष्काशन गरिएका पत्रकारको पुनर्बहाली तथा श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिकको कार्यान्वयन हुनुपर्ने माग गर्दै पत्रकारहरूले सिंहदरबारमा धर्ना दिएको नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहालले बताए । गिरफ्तार परेका सबै पत्रकारहरू नेपाल पुलिस क्लबमा राखिएको छ ।