कीर्तिपुर अस्पतालको बेड नम्बर ५ मा उपचाररत १४ वर्षीया मुस्कान खातुन आमा सहनाज खातुनसँग घरीघरी ऐना हेर्छु भन्दै जिद्दी गरिरहन्छिन् । तर, उनकी आमालाई भने एसिडले डढेको उनको अनुहार अहिले नै देखाइदिने आँट छैन । मुस्कानकी आमा सहनाज र बुबा रसुल अली घरी छोरीको टाउको सुमसुम्याउछन् त घरी अन्य बिरामीका कुरा सुन्न कुरुवा कक्ष तिर जान्छन् । कलिलो र चिटिक्क परेको छोरीको अनुहार उपचार सकिएपछि कस्तो हुने हो भन्दै उनीहरू एक आसपसमा कुरा गर्छन्, जुन कुरा सकभर मुस्कानले नसुनोस भन्ने उनीहरूको चाहाना छ ।
वीरगञ्जको छपकैया-३ की कक्षा ९ मा अध्ययनरत मुस्कानको अनुहार एसिडले डढेको भएपनि आँखा भने जोगिए । ‘म बिहानै स्कुल जाँदा सुरूमा उनीहरूले बोतलको पानी खान भने । तर, मैले खान्न भने । त्यसपछि त्यही बोतल मेरो अनुहारमा खन्याए । त्यतिबेला निकै पोल्यो । उनीहरू कता भागे भन्ने पनि थाहा पाइनँ ।’-उनी भन्छिन्-‘अझैपनि डर लागिरहेको छ । उनीहरूका बारेमा मलाई केही थाहा छैन ।’ उनीहरूले कहिलेकाँही बाटोमा जिस्काउने गरेको भएपनि उनी आफूले केही नबोलेको उनले बताइन् । मुस्कानका बुबा रसुल अलिले भने एक पटक गाली गरेका थिए । उनलाई के थाहा सामान्य गालीले छोरीको यो अवस्था हुन्छ भनेर !
उनको दाहिने आँखाको ठिक तलबाट जलेको छ । दुवै हात र घाँटीमा बेरिएको बाक्लो पट्टि खोलिने दिन भने उनी बारम्बार गनिरहन्छिन् । घरदेखि उनी पढ्ने विद्यालयको दुरी २० मिनेटको छ । उनी त्यै बाटो भएर बिहान पढ्न जान्छिन् । सरकारी स्कुलमा अङ्ग्रेजी माध्यमबाट पढ्दै गरेकी मुस्कान पढाइमा मेधावी छिन । रसुललाई छोरीको हौसलाले प्रेरणा मिलेको छ । उनी भन्छन्-‘छोरी विस्तारै बोल्न थालेकी छ । हामीसँग कुरा गर्दा सम्झाउने कोशिस गर्छे तर, उसको आमालाई सम्झाउन मुस्किल परिरहेको छ ।’
एसिड छ्याप्ने वीरगञ्जकै १६ वर्षीय बालकसहित दुवै जना हाल प्रहरी हिरासतमा रहेका छन् । शरीरमा आगो लागे जस्तै भयो । त्यो देखेर भाइ कराउन थाल्यो । बिहान चोकमा जम्मा भएकाले घरमा खबर गरे । खबर पुग्दा बाबु रसुल प्रार्थनामा थिए । उनी हत्तपत्त चोक पुग्दा छोरीको हालत हेरी नसक्नुको थियो । नजिकैको अस्पताल पुर्याए । सामान्य प्राथमिक उपचारपछि मुस्कानलाई भदौ २० गते दिउसोको ३ बजे उनीहरूले कीर्तिपुर अस्पताल ल्याइपुर्याएका थिए । अहिले उनको उपचार जारी छ । उनी अस्पतालको बेडबाटै पढेर केही गर्ने अठोट लिँदै भन्छिन्-‘म पढेर समाजसेवामा लाग्छु ।’