बेनी नपा-५, चुत्रेनीमा रहेको जि.सी. क्रसर उद्योगको तीनओटा एक्जाभेटरमा अज्ञात पक्षले भदौ २५ गते राति आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट बा १ क ८१२१, बा १ क ८१२२ र बा १ क ८११८ नम्बरका एक्जाभेटरमा पुर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले बताए ।
निर्माण व्यवासायी सङ्घ म्याग्दीका अध्यक्ष समेत रहेका सञ्चालक नारायण जिसीले आफूलाई पहिला पनि विभिन्न पक्षबाट चन्दा लगायतका माग गर्दै धम्की आउने गरेको बताएका छन् । ‘क्षति र कारबाही व्यहोर्नुपर्ने भन्ने धम्की आएको थियो । अहिले यो घटना भयो ।’-जिसीले भने ।
आगजनीबाट ३ करोड रुपियाँ बराबरको क्षति भएको घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।