प्रहरीको गोली र अश्रुग्यासको प्रहारबाट भदौ १९ गते बर्दिया जिल्ला बारबर्दिया नपा–९ स्थायी घर भई मेलम्ची खानेपानी कार्यालयको सुपरभाइजर पदमा कार्यरत ३२ वर्षीय सन्तोष चौधरी र मेलम्ची नपा–९ स्थित ज्यामीरेका ३० वर्षीय बालमुकुन्द अधिकारी घाइते भएका छन् ।
मेलम्ची खानेपानी आयोजनाले मजदुरलाई ज्याला नदिएको भन्दै भदौ १८ गतेदेखि आन्दोलनमा उत्रिएका मजदुरहरू र प्रहरीबिच भदौ १९ गते झडप हुँदा प्रहरीले प्रहार गरेको रबरको गोलीबाट सन्तोष चौधरी र अश्रुग्यास प्रहारबाट बालमुकुन्द अधिकारी घाइते भएको इलाका प्रहरी कार्यालयका इन्स्पेन्टर महेन्द्र दर्नालले बताए ।
पीडित मजदुरहरूले आफूले पाउने पारिश्रमिक समयमा नै पाउनुपर्ने माग राखेर आन्दोलन गरेको सङ्घर्ष समितिका संयोजक विष्णुमणी आचार्यले बताए ।
उनका अनुसार शान्तिपुर्ण आन्दोलनमा उत्रिएका कामदारलाई सशस्त्र प्रहरी र जनपथ प्रहरीले हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा गोली तथा अश्रुग्यास प्रहार गरेका हुन् ।
आन्दोलनकारीहरूले खानेपानी आयोजनको मोटरहरूमा ढुङ्गामुढा गरेपछि उनीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरीले जनायो ।
आन्दोलनका क्रममा सशस्त्र प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट बेहोस भएका अधिकारीको तत्कालै मेलम्ची अस्पतालमा उपचार गरिएको र गोली प्रहारबाट देब्रे पाखुरामा चोट लागी घाइते भएका चौधरीलाई भदौ १९ गते नै काठमाडौँको टिचिङ अस्पतालमा लगेर उपचार भइरहेको खानेपानी आयोजनाका मदजुर देवीरमण अधिकारीले बताए ।