बैजनाथ गाउँपालिका-४ बानियाभारका ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई भदौ १६ गते प्रहरीले गोली प्रहार गरेको छ ।
बाँया गोडाको पिडुँलामा गोली लागेका न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी हेमबहादुर शाहीले बताए ।
अदालतले कैद तोकी फरार रहेका न्यौपानेलाई भदौ १६ गते इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले जमुनाहाबाट गिरफ्तार गरी कोहलपुर ल्याउने क्रममा नेपालगञ्ज उपमनपा-२० राँझा चोक नजिक मोटर साइकलबाट भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
न्यौपानेलगायत तीन जनालाई ०६७ सालमा बासगढी नगरपालिका-१ चेपाङ देउराली जङ्गलको सडकमा युएनको गाडीमा हतियार देखाएर चोरी गरेको आरोपमा बर्दिया जिल्ला अदालतले ०६८ पुस २१ गते ६ वर्षकैद र २९ हजार ९ सय रुपिँया जरिबानाको फैसला गरेको थियो । न्यौपाने लगायत तीन जना आरोपितहरू फरार रहेका थिए ।