INSEC Online

📅 २०८३ जेष्ठ २१

मर्चवारी गाउँपालिकाको कार्यालयमा तोडफोड

मर्चवारी गाउँपालिका–३ सेमरामा रहेको मनराजीदेवी माविका विद्यार्थीले शिक्षकको माग गर्दे मर्चवारी गाउँपालिकाको कार्यालयमा भदौ १३ गते तोडफोड गरेका छन् ।

विद्यार्थीहरूले पटकपटक गाउँपालिकासँग शिक्षकको माग गरेको भएपनि गाउँपालिकाका जनप्रतिनिधिहरूले बेवास्ता गरी आलटाल गरेको भनी विद्यार्थीहरू आक्रोशित भएका थिए ।

पटक पटक शिक्षकको माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको ६ महिनासम्म विद्यालयमा शिक्षक नभएर पढ्न नपाएकाले तालाबन्दी गर्नुपरेको उनीहरूको भनाई छ ।

आन्दोलित विद्याथीहरूले नाराबाजी गर्दे गाउँपालिकाका अध्यक्षको राजनीनामा समेत मागेका थिए । आक्रोशित विद्यार्थीहरूले गाउँपालिकाको कार्यालयमा ढुङ्गामुढा समेत गरेका थिए ।

विद्यार्थीहरूले ढुङ्गामुढा गर्दा गाउँपालिका कार्यालयको झ्याल ढोकाका शिशाहरूमा पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर पोषणराज ढकालले बताए ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाले अस्थायी शिक्षकको रूपमा काम गर्दै आएका शिक्षक, शिक्षक सेवा आयोगको परीक्षामा फेल भएपछि समस्या आएको बताए ।

उनले भने–‘आयोगले लिएको परीक्षामा फेल भएका शिक्षकलाई गाउँपालिकाले नै स्थायी बनाउनुपर्ने भन्दै दबाब आएको छ । मेरो अधिकारकै क्षेत्र नभएकोमा म कसरी स्थायी बनाउन सक्छु ? भनेपछि विद्यार्थीहरूलाई उचालेर स्थानीय सरकारलाई कमजोर बनाउन लागेका हुन् ।’

विद्यार्थीलाई हतियार बनाएर गाउँपालिकामाथि ढुङ्गामुढा गर्ने सोही विद्यालयका शिक्षक प्रमोद यादव लगायतको टिम रहेको उनको आरोप छ ।
‘उनीहरू पुरै तयारीका साथ आएका थिए । हातमा मोसो, लठ्ठी र भालाहरू लिएका थिए । मेरो कार्यकक्ष माथिल्लो तलामा छ । बाहिरबाट मेरो विरूद्धमा विभिन्न नाराहरू लगाए । ढुङ्गामुढा प्रहार गरी झ्याल ढोकाका शिशाहरू पूर्ण रूपमा क्षति भएको छ ।’–अध्यक्ष बाँनियाले भने ।

मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले प्रदेश शिक्षक व्यवस्थापनमा पत्राचार गरी छिट्टै शिक्षक पूर्ति गर्न र शिक्षक भर्ना अनुमतिको कार्य पनि अन्तिम चरणमा पुगेको बताए ।

अन्य

भिडियो