INSEC Online

📅 २०८३ जेष्ठ २२

कारागार भवन चिराचिरा परेका कारण कैदीबन्दी त्रासमा

चर्किएर चिरैचिरा बनेको जिल्ला कारागार खोटाङका कैदीबन्दी त्रासैत्रासमा बस्न बाध्य छन् ।  कमजोर जगमा निर्माण गरिएका कारण भासिएर चिराचिरा परेको कारागार भवनको पर्खाल भत्किएर किच्न सक्ने हुनाले कैदीबन्दी त्रासमा परेका हुन् ।

०७२ सालको भूकम्पपछि कामै नलाग्ने गरी जिर्ण बनेको कारागार भवन जुनसुकै समयमा भत्कन सक्ने अवस्थाको बनेको छ । तर, टालटुल गरेर कैदीबन्दीलाई राखिएको थियो । फिलिङ गरेको माटोमाथि बनाइएको कारागारको भवन निर्माण सम्पन्न भई हस्तान्तरण हुनु अगावै चर्किन थालेको थियो ।

‘ङ’ श्रेणीको कारागार भवनको अधिकांश भित्ता चिरा–चिरा परेकोमा सिमेन्टेड भुँई समेत उक्किएको र चर्किएको अवस्थामा रहेको जेलर चित्राखर आचार्यले बताए ।

हाल कारागारमा एक नाबालक र दुई महिला सहित ९६ जना कैदीबन्दी रहेका छन् । ६६ जना पुरुष र ३३ महिला गरी ९९ जना कैदीबन्दीको क्षमता भएको कारागार भवनमा पुरुषको वार्डमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ ।

२०१० सालमा निर्माण भएको कारागार माओवादी द्वन्द्वकालमा ध्वस्त बनाइएपछि २०६८ मा पुनर्निर्माण गरिएको हो । कारागारमा ढल निकास, फोहोर व्यवस्थापन लगायतको पक्ष पनि कमजोर रहेको छ । यस्तै, दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा पनि समस्या भएको छ ।

photo20190831khotang (1)

photo20190831khotang (2)

photo20190831khotang (3)

अन्य

भिडियो