INSEC Online

📅 २०८३ श्रावण ७

बेपत्ता नागरिकहरूका आफन्तको प्रश्न–‘हाम्रा आफन्त कहाँ छन् ?’

सभाहलमा भेला भएका सबै मानिसहरूको एउटै प्रश्न थियो–‘सरकार हाम्रा आफन्त कहाँ छन् ?’ देशका विभिन्न ठाउँहरूबाट भेला भएका उनीहरूको पीडा र व्यथा पनि समान रहेको बताएका छन् ।

उनीहरूले आफन्तको खोजी गर्न थालेको वर्षौँ बितिसक्यो तर अझै पनि जबाफ पाएका छैनन् ।

मार्टीन चौतारीको सभाहलमा उपस्थित थिइन् गोरखाको हर्मी गाउँपालिका–८ की युवती ममता शर्मा ।  ममताका बुवा राजेन्द्रप्रसाद ढकाललाई २१ वर्षअघि राज्य पक्षले ०५५ साल पुस २४ गते तनहुँको बेलबारीबाट बेपत्ता पारेको हो ।

तत्कालिन शाही नेपाली सेनाद्वारा गिरफ्तार गरिएका ढकालको अवस्था सार्वजनिक नहुँदा परिवारलाई झनै पीडित बनाएको छ ।

ममता भन्छिन्–‘म चार वर्षको हुँदा बुबालाई बेपत्ता बनाए । आज २५ वर्षकी भएँ । बुबाकै खोजीमा भौतारिइरहेकी छु । हाम्रो पीडा कसैले पनि बुझेनन् । अब त न्याय मरिसक्यो की जस्तो लाग्छ ।’

बुबाको अवस्थाका बारेमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म छानविनको लागि आग्रह गरेपनि त्यसको सुनुवाइ नहुँदा निकै दुःख लागेको उनको भनाई छ ।

बलपूर्वक बेपत्ता पारिएकाहरूको अन्तरािष्ट्रय दिवसको अवसरमा आफन्तको सम्झनामा काठमाडौँको माइतिघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रममा पनि उनी सहभागी थिइन् ।

२०६० भदौ ४ गते काठमाडौँबाटै चेतनाथ ढुङ्गानालाई पनि राज्य पक्षले बेपत्ता पा¥यो । चेतनाथका दाजु नवराज ढुङ्गानाले के कारण र कुन अभियोगमा गिरफ्तार गरी बेपत्ता बनाइयो भन्ने प्रश्नको उत्तर अहिलेसम्म नपाएको बताए ।

‘आफन्तको अवस्था थाहा पाउनु हाम्रो अधिकार हो । किन बेपत्ता बनाइयो ? त्यसमा संलग्न अपराधिहरू खुलेआम हिँडिरहेका छन् । तर, पीडित भने दिनरात रुँदै बाँच्नुपरिरहेका छ ।’–उनी प्रश्न गर्छन्–‘कानुनी राज्य भनेको यही हो ? अब हामी न्याय माग्न कहाँ जाने ?’

ममता र नवराज त द्वन्द्वकालिन घटनामा पीडित भएकाहरूका प्रतिनिधि पात्र मात्र हुन् । सामान्य अवस्थामा ६० वर्षको उमेरमा सन्तानको भविष्य हेर्दै रमाउनु पर्नेमा अभिभावकहरू सन्तानको अवस्थाका बारेमा रुमलिइरहेका छन् ।

वरिष्ठ अधिवक्तासमेत रहेका सल्यानका एकराज भण्डारी पनि पीडित मध्येका एक हुन् । उनका छोरा विपिनलाई बेपत्ता पारिएको पनि लामो समय बितसक्यो । उनी भन्छन्–‘अब हामी न्यायका लागि पर्खन सक्ने अवस्थामा छैनौँ । सरकारले यसलाई गम्भीरतापुर्वक लिनुपर्‍यो ।’

भण्डारीले १ हजार ३ सय ५० भन्दा बढी बेपत्ता पारिएका नागरिकहरूले परिवर्तनका लागि दिएको योगदानलाई नेतृत्वले बिर्सिएको गुनासोसमेत गरे ।

उनले आफ्ना सन्तानका पनि सन्तानले आफ्नो बाबुको पहिचान खोज्दै गर्दाको पीडा सम्पुर्ण बेपत्ता पारिएका व्यक्तिका परिवारका आखाँमा देख्न सकिने बताए ।

बेपत्ता पारिएकाहरूको सम्झनामा काठमाडौँको माइतीघरमा दिप प्रज्वलनपछि आयोजित कोणसभामा अधिकारकर्मी चरण प्रसाईले वर्तमान सरकार पनि पीडितहरूलाई ढाँट्ने कार्यमा तल्लिन रहेको आरोप लगाए ।

photo20190831kathmandu (1)

photo20190831kathmandu (2)

photo20190831kathmandu (3)

अन्य

भिडियो