INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनामा मिलापत्र गर्न दबाब

१७ वर्षीया बालिकालाई मेचीनगर नगरपालिका-१० का ५९ वर्षीय विष्णुकुमार खड्काले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिँदा बहालमा बस्दै आएको घरबाट निस्कनु पर्ने अवस्था आएको पीडित परिवारले गुनासो गरेको छ ।

भूमिहीन र घरबारबिहीन पीडित परिवार मेचीनगर नपा-९ मा आरोपित विष्णुकुमार खड्काको आफन्तको घरमा बहालमा बस्दै आएको थियो ।

घटना भएपछि आरोपित पक्षले पीडित पक्षलाई पैसामा मिल्न दबाब दिएको र आफूहरूले प्रहरीमा उजुरी दिएपछि आरोपितका आफन्तले जालसाजी गरी बहाल नतिरेको भन्दै वडा कार्यालयमा निवेदन दिएर वडा कार्यालयले घर छोड्न भन्दै भदौ ४ गते पत्र पठाएको पीडित परिवारले जनाएको छ ।

घरधनी पुष्पा खड्काले बहालमा बस्ने परिवारले लामो समयदेखि बहाल भाडा नबुझाएको र घर छोड्न भन्दा नमानेको व्यहोराको निवेदन वडा कार्यालयमा दिएपछि घर छोड्न पत्र काटेको वडा नं ९ का वडाध्यक्ष गोपाल खड्काले बताए ।

पीडित पक्षले भने घर बहाल बुझाएपनि आरोपितले जालसाजी गरी घर बहाल नबुझाएको भन्दै लखेट्न खोजेको आरोप लगाएको छ ।

आफूहरू आरोपितको आफन्तको घरमा डेरामा बस्दै आएको र उनीहरूले पैसामा मिल्न दबाब दिँदा नमानेर साउन ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा आरोपित विरूद्घ उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।

उजुरी लगत्तै आरोपित फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर टिकाबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा साउन ३ गते गरिएको छ ।

अन्य

भिडियो