INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पपीडित क्याम्पमा विद्यालय नहुँदा बालबालिकाहरू मर्कामा

उत्तरगया गाउँपालिका–५ खाल्टेमा विद्यालय नहुँदा विस्थापित क्याम्पमा रहेका ५ सय ६० जना बालबालिकाहरू पढ्न अन्यत्र विद्यालयमा जानुपर्ने बाध्यता रहेको छ ।

यहाँका विस्थापित बालबालिकाहरू नुवाकोटको विदुर नगरपालिकास्थित रामचन्द्र आधारभूत विद्यालय, उत्तरगया आवासिय माध्यमिक विद्यालय, रसुवाको निलकण्ठ उच्च माध्यमिक तथा ट्रिनिटी आवासिय विद्यालयमा पढ्न जाने गरेका छन् ।

उत्तरगया गाउँपालिकाको छेउमै रहेको क्याम्पमा विद्यालय निर्माण थालनी गरिएता पनि कतैबाट रकम सहयोग नहुँदा विद्यालय बन्न नसकेको स्थानीय पर्मा लामाले बताए ।

बस्तीदेखि टाढा विद्यालय धाउनु पर्ने बाध्यता रहेको भन्दै विद्यालय पुगेर टहरामा नआइपुग्दासम्म अभिभावक सहित आफूहरू पनि त्रासमै रहने गरेको बालबालिकाको भनाई छ ।

त्रिशूली नदीको छेउमा त्रासमै दिनरात गुजारिरहेका हाकु र डाँडागाउँका २ सय ६९ परिवार खाल्टे क्याम्पमा छन् ।

वरपर पनि बस्तीहरू स्थानान्तरण गरेर बसेका भए पनि गाउँ नजिकै विद्यालय नहुँदा यहाँका बालबालिकाहरूलाई पढाइमा समस्या रहेको खाल्टे क्याम्पका अगुवा पुर्ण घलेले बताए ।

उनले भने–‘झण्डै ६ सय जना विद्यार्थी विस्थापित क्याम्पमा छन् तर यहाँ विद्यालय छैन । बालबालिकाहरूको शिक्षाको अधिकार सुरक्षित हुन सकेन ।’

खाल्टे क्याम्पमा विद्यालय निर्माण थालेको टहरो देखाउँदै घलेले भने–‘खाल्टे क्याम्पमा विद्यालय स्थापना गर्ने सपना अधुरै रह्यो ।’

भूकम्प गएको लामो समय भइसक्दा समेत विस्थापित क्याम्पमा विद्यालय स्थापना हुन सकेको छैन । कतै विद्यालयमा विद्यार्थी भन्दा शिक्षक सङ्ख्या बढी रहेको तर यहाँ विस्थापित बालबालिका पढाउने विद्यालय समेत नभएको स्थानीय छेकु लामाले गुनासो गरे ।

उनले भने–‘विस्थापितको निजी आवास पुनर्निर्माण हुन नसक्दा विस्थापित समुदायको बस्ती स्थानान्तरण हुन सकेन ।’

संविधानले आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटेको भएपनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा भूकम्प पीडित परिवार अझैसम्म पनि अस्थयी टहरामै बस्न बाध्य भएका छन् ।

अन्य

भिडियो