INSEC Online

📅 २०८३ जेष्ठ २२

हिंसापीडित महिलाको माग-‘आरोपितलाई हदैसम्मको कारबाही होस्’

सिद्धलेक गाउँपालिका-१ की २४ वर्षीया बिमला दराई लम्साल र १५ महिनाको छोरालाई तार्पिन तेल खन्याएर हत्याको प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका २५ वर्षीय गणेश लम्साललाई हदैसम्मको कारबाही गर्न पीडितले मागगरेकी छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत पीडित महिलाले इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधिमार्फत यस्तो माग गरेकी हुन् ।

Photo20190827Ktm (1)

पीडित महिला र बालकलाई आरोपितले भदौ १ गते तार्पिन तेल खन्याएर जलाएको र झ्यालबाट हामफालेर ज्यान जोगाएको पीडित महिलाले बताइन् ।

पीडितका अनुसार गाउँमा पेन्टरको काम गर्ने गणेशले तार्पिन तेल घरमै राख्ने गर्थे । छोरालाई लिएर सुतिरहेकी आफूलाई पतिले तार्पिन तेल खन्याएर आगो सल्काएको पीडितले बताइन् ।

पीडित बिमलाको मुख चिउँडो, दुवै हात र छातिमा पोलेको गहिरो घाउ छ भने १५ महिनाको बालकको टाउको, पेट, ढाड र देव्रे हात तथा देव्रे गोडामा पोलेको छ ।

Photo20190827Ktm (2)

गाउँलेको सयोगमा शिक्षण अस्पताल आइपुगेकी बिमला भन्छिन्-‘मेरो जीवन आफ्नै मानिसबाट यो अवस्था झेल्नुपर्‍यो । छोराको अवस्था कस्तो हुने हो ? केही सोच्न सकिरहेकी छैन ।’

घटना लगत्तै गाउँमै प्राथमिक उपचारपछि भदौ २ गते पीडित महिलालाई शिक्षण अस्पताल र छोरालाई कान्ति बाल अस्पताल भर्ना गरिएको छ ।

गाउँकै जलेश्वरी माध्यामिक विद्यालयमा प्राथमिक स्तरकी स्थायी शिक्षिका रहेकी बिमलाले १२ कक्षा पास गरेकी छिन् ।

उनि भन्छिन्-‘म जस्तो पढेलेखेकी महिलामाथि त यस किसिमको हिंसा हुन्छ भने अरू अशिक्षित महिलाहरूले कस्तो पीडा भोगिरहेका होलान् ? म अहिले सोच्न सकिरहेकी छैन ।’ उनका १५ महिनाको छोरा र पाँच वर्षीया छोरी छन् ।

बिमलाका पति हाल प्रहरी हिरासतमा छन् । शिक्षण अस्पतालको जनलर वार्डमा एक कोल्टे परेर पल्टिरहेकी उनको एउटै माग छ-‘यस किसिमको जघन्य अपराध गर्ने पतिलाई हदैसम्मको कारबाही होस् । यो माफी दिने किसिमको गल्ती होइन । म कुनैपनि हालतमा माफी दिन्न ।’

त्रिवि शिक्षण अस्पतालका डाक्टर जयमान श्रेष्ठले बिमलाको देव्रे हातमा बाहेक शरीरका अन्य भागका घाउहरू सामान्य बन्दै गएको बताएका छन् ।

जेनिसको उपचारको सम्पूर्ण खर्च कान्तिबाल अस्पतालले व्यहोर्दै आएको छ । बालकको हालको अवस्था पनि सामान्य नै रहेको उनका उपचारमा संलग्न डाक्टर मधुसुधन पुनले जानकारी दिए ।

अन्य

भिडियो