परिवर्तन गाउँपालिका-२ को वडा कार्यालयमा भदौ ८ गते राति अज्ञात पक्षबाट बम विष्फोट गराउनुको साथै आगजनी गरिएको प्रहरीले जनाएको छ ।
राङ्सीस्थित वडा कार्यालयमा राति १२ बजे बाल्टिन बम विस्फोट भएको वडाध्यक्ष हरिप्रसाद बुढाले बताए । बम विष्फोटपछि गरिएको आगजनीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । ‘आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट बचेको छ ।’-वडाध्यक्ष बुढाले भने ।
घटना लगत्तै तत्काल आगो नियन्त्रणमा आएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक खड्काले बताए ।
बम विष्फोटपछि स्थानीय त्रसित बनेका छन् । प्रहरीका अनुसार बम विष्फोट र आगजनीको घटना नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गराएको आशङ्का गरिएको छ ।
यसैबीच वडा कार्यालयले बम विष्फोट र आगजनीको घटनाप्रति विज्ञप्तिमार्फत घटनाको भत्सर्ना गरेको छ । वडाध्यक्ष बुढाले भदौ ९ गते विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग आग्रह गरेका छन् ।