नागार्जुन नगरपालिका-४ बाफलमा दर्ता बिना नै सञ्चालन गरिएको नमूना प्रगतिशील महिला समाजमा अवैध रूपमा राखिएका नौ जना बालबालिकारूलाई प्रहरीले भदौ ४ गते उद्धार गरेको छ ।
उद्धार गरिएका बालबालिकाहरूमध्ये पाँच जना बालिका र चार जना बालक रहेका छन् । उद्धार गरिएकाहरूमा कालिकोट जिल्ला घर भएका ६ वर्षीय भूपेन्द्र दर्जी, ६ वर्षीय सन्देश दर्जी, तीन वर्षीय भूमि दर्जी र सात वर्षीया करिश्मा दर्जी रहेका छन् ।
त्यसैगरी बर्दिया जिल्लाका पाँच वर्षीय रोहित बिसी, ११ वर्षीया मिना रावल, नौ वर्षीय सुमन दर्जी, सात वर्षीया नबिना दर्जी र कैलाली जिल्लाकी सात वर्षीया कविता दर्जी रहेको बालबालिका खोजतलास केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालले बताए ।
मापदण्ड पुरा नगरी तथा दर्ता बिना नै बालबालिकाहरूलाई राखेको आरोपमा प्रहरीले नमूना प्रगतिशील महिला समाजका सञ्चालकहरू कोपिला कुँवर, प्रताप राना, रत्न परियार, सुजित रायमाझी र राधिका पाण्डेलाई गिरफ्तार गरेको इन्स्पेक्टर दाहालले बताए ।
द्वन्द्वपीडित अभिभावकहरूका बालबालिकालाई पढाइदिने प्रलोभन देखाएर उनीहरूलाई काठमाडौँ ल्याइएको तर संस्थाका सञ्चालकहरूले बालबालिकाहरूलाई बन्दी बनाएर राखेको, राम्रोसँग खान नदिएको र विद्यालय समेत नपठाएको भेटिएको र बालबालिकामाथि यौन दुर्व्यवहार भएको सूचना पनि प्राप्त भएको भन्दै यस विषयमा गम्भीर अनुसन्धान गरिने इन्स्पेक्टर दाहालले बताए ।