‘आरक्षण बचाऔँ आन्दोलन’ गरिराखेका पाँच जना प्रदर्शनकारीहरू प्रहरीको लाठी चार्जका कारण घाइते भएका छन् ।
लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन समावेशी नभएको भन्दै साउन ३२ गरिएको आन्दोलनका क्रममा उनीहरू माथी प्रहरीले लाठी चार्ज गरेको हो ।
लाठी जुलुस गरिराखेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेपाल आदिवासी जनजाति महासङ्घका ४० वर्षीय अध्यक्ष जगत बराम लगायत चार जना घाइते भएका छन् ।
घाइतेहरूमा गणेश तिरुवा, दलमर्दन कामी, सविन पुलामी मगर, उस्पार सुनुवार रहेका छन् । उनीहरूको उपचार मोडल अस्पतालमा गरिएको छ ।
काठमाडौँको भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन पुतलीसडकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
लोक सेवाले निकालेको विज्ञापन अनुसार परीक्षासमेत भइसकेको छ । तर, उक्त विज्ञापन संविधानको भावनाविपरीत निकालिएको भन्दै आदिवासी जनजाति लगायतले रद्द गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।