तिब्बतीयन नागरिकले गैरकानुनी रूपमा काठमाडौँ लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका सातजना बालबालिकालाई साउन २३ गते विमानस्थल प्रहरीले फर्काएर परिवारको जिम्मा लगाएको छ ।
काठमाडौँको जोरपाटीमा सञ्चालित छुतसाङ गुम्बामा पढाउन लैजाने क्रममा नौ वर्षदेखि १३ वर्ष उमेर समूहका सातजना बालबालिका कानुनी प्रक्रिया नपुगेको भन्दै प्रहरीले फिर्ता गरेको हो ।
प्रहरीले फिर्ता गरिएका बालबालिकाहरूमा काइके गाउँपालिका–७ का दुईजना, वडा नम्बर ६ का चारजना र मुड्केचुला गाउँपालिका–७ का एक जना गरेर सातजना रहेका छन् ।
गैर कानुनी रूपमा बालबालिका लैजाने नागरिक काठमाडौँ जोरपाटीस्थित छुतसाङ गुम्बाका लामा रहेको र उनी तिब्बतीयन नागरिक भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित गाउँपालिकाको वडा कार्यालयले बालबालिका लैजानका लागि सिफारिश गरेको भएपनि शिक्षा समन्वय र जिल्ला प्रशासनको अनुमति बिना ठुलो सङ्ख्यामा बालबालिका जिल्ला बाहिरा लैजाँदै गरेको भेटिएपछि प्रहरीले परिवारमाझ फिर्ता गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी, मुकेशकुमार केशरीले बताए ।
बालबालिका लैजाने नागरिक तिब्बतीयन भएको र जोरपाटीमा रहेको भनिएको गुम्बाको आधिकारिक अवस्था बारे बुझेर मात्र बालबालिका पठाइने प्रमुख जिल्ला अधिकारी केशरीले बताए ।
आफूहरूको आर्थिक अवस्था कमजोर रहेको र पढाउन सक्ने अवस्था नभएको बेला निशुल्क रूपमा लामा पढाइदिन्छु भनेपछि सहमतिमै बालबालिका पठाएको तर गुम्बा आधिकारिक छ छैन भन्ने थाहा नभएको अभिभावक राजेन्द्र कामीले बताए ।