नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धत नेपाल कम्युनिष्ट पार्टीका नेता प्यूठान जिल्ला माण्डवी गाउँपालिका-२ मर्कावाङका ३८ वर्षीय राजेन्द्रबहादुर राउत क्षेत्रीले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेको पत्र बुझाएपछि रिहा भएका छन् ।
प्यूठान प्रहरीले क्षेत्रीलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची हुँदै असार २५ गते गुल्मी पुर्याएको थियो ।
प्यूठान, अर्घाखाँची हुँदै गुल्मीसम्म १ सय १ दिनसम्म हिरासतमा रहेका राउतले जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेत, सशस्त्र प्रहरीका डिएसपी बिनोदराज खनाल लगायतका सुरक्षा निकायका प्रमुख, नागरिक समाज, पत्रकारहरूको रोहवरमा पार्टी परित्याग गरेको विज्ञप्ति प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई बुझाएका थिए ।
विज्ञप्तिमा आफू पूर्व माओवादी लडाकु रहेको र दुई वर्षपहिले उक्त पार्टीको प्यूठान जिल्लाको जनसरकार प्रमुख भएको उल्लेख गरिएको छ ।
उनले उक्त पार्टीमा संलग्न भई कुनै पनि क्रियाकलापमा नलाग्ने र लागेको ठहर भएमा कानुन अनुसार सजाय भोग्न मञ्जुर रहेको भनी हस्ताक्षर गरेको विज्ञप्ति प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाएका छन् ।