INSEC Online

📅 २०८३ जेष्ठ २१

जीर्ण कारागारमा क्षमताभन्दा बढी बन्दीले समस्या

बिनासकारी भूकम्पले क्षति पुर्‍याएको जिल्ला कारागार शाखा रसुवामा क्षमताभन्दा बढी कैदीबन्दी रहेकोले समस्या परेको छ ।

 

‘ङ’ श्रेणीको २५ जना बन्दी क्षमता रहेको जिल्ला कारागार शाखामा विभिन्न अभियोगमा ८४ कैदी र आठ जना थुनुवा गरी ९२ जना बन्दी जसमध्ये ६ जना महिला र पाँच जना विदेशी नागरिक रहेको जेलर कृष्णहरि पुडासैनीले बताए । कारागारमा महिला बन्दीका लागि छुट्टै टहरा रहेको छ ।

 

क्षमताभन्दा बढी बन्दी रहेकोले यहाँका स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको बन्दीहरू बताउँछन् ।

 

नेपाल सरकारले कैदीबन्दीका लागि दिएको स्वास्थ्य सेवा, खेलकुदलगायतको सुविधाबाट समेत वञ्चित भएको कैदीबन्दीले गुनासो गरेका छन् ।

 

भूकम्पले कारागार ध्वस्त भएकाले कारागारमा बन्दीहरुलाई अझैसम्म अस्थायी टहरामा राखिएको कारागार प्रशासनले जनाएको छ ।

 

कारागारमा क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दी रहेकाले जस्ताका ससाना कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ ।

 

कारागारमा खेलकुद सामग्री, शौचालय र पुस्तकालय अभाव रहेपनि सीपमूलक तालिमको व्यवस्था भएको कारागारका प्रमुख पुडासैनीले बताए ।

 

क्षमता भन्दा बढी बन्दीहरू रहेकाले यहाँ पिउनेपानी, शौचालय स्वास्थ्य परीक्षण जस्ता अत्यावश्यक कुरामा समस्या रहेको बन्दीहरूले गुनासो गरेका छन् ।

 

बिहान १० बजेदेखि ५ बजेसम्म बन्दीका आफन्त भेट्ने व्यवस्था मिलाइएको छ । इन्सेक प्रतिनिधिसँगको भेटमा कारागारमा कोठाहरू कम भएकोले बन्दीहरूलाई बस्न तथा सुत्नका लागि समस्या भएको कारागारका बन्दी देववाङदी तामाङले बताए ।

 

अन्यत्र जिल्लाबाट बन्दी सरूवा भएर आउने क्रम बढेपछि यसवर्ष क्षमता भन्दा बढी कैदीबन्दी भएका हुन् ।

अन्य

भिडियो