सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई साउन १८ गते राति प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा सो पार्टीका जिल्ला कमिटी सदस्य आबुँखैरेनी गाउँपालिका–३ निवासी ४६ वर्षीय गणेश थापा र घिरिङ गाउँपालिका–२ निवासी एरिया कमिटी सदस्य ३६ वर्षीय धनबहादुर थापा रहेका छन् ।
लामो समयदेखि बिरामी भई घरमै उपचाररत आबुँखैरेनीका थापालाई राति ९ बजे घरबाटै गिरफ्तार गरिएको र घिरिङका थापालाई पनि राति घरबाटै गिरफ्तार गरिएको थियो ।
घिरिङ गाउँपालिका–२ को घुर्लीछापमा निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको टावरमा साउन १५ गते राति आगजनी भएपछि सो घटनामा संलग्न भएको आशङ्कामा थापालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए ।
गिरफ्तार गरिएका दुबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी लामिछानेले जानकारी दिए ।