प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले साउन १५ गते आह्वान गरेको नेपाल बन्दको दिन मेलम्ची नगरपालिका–१० शिखरपुरको वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी गरिएको छ ।
साउन १५ गते बिहानको राति अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको स्थानीय बालकृष्ण आचार्यले बताए ।
आचार्यका अनुसार उक्त समूहले वडा कार्यालयमा लगाएको तालालाई फलाम काट्ने ह्याक्सोले काटेर भित्र पसी कार्यालयमा रहेका कागजपत्रमा आगो लगाएका हुन् ।
आगजनीबाट कार्यालय पूर्ण रूपमा नष्ट भएको र आजगनी कसले गरेको हो भन्ने हालसम्म नखुलेको जनाइएको छ ।
कार्यालय तोडफोड गर्ने हतियार ह्याक्सो घटना स्थलभन्दा केही पर भेटिएको सोही वडाका वडा अध्यक्ष भक्तबाहादुर खड्काले बताए ।
वडा कार्यालयमा कसले आगजनी गर्यो भन्ने बारे पत्ता नलागेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।