नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शुक्लागण्डकी नगरपालिकामा पत्रकार सम्मेलनको क्रममा पत्रकारहरूमाथि दुर्व्यवहार गरिएकोप्रति आपत्ति जनाएको छ ।
शाखाले साउन १० गते साँझ विज्ञप्ति प्रकाशित गरी नगर उपप्रमुख सविता रसाईलीले नगरपालिकाको सभाकक्षमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूमाथि हातपात र दुर्व्यवहार गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नगर उपप्रमुखले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई बोलाएर अभद्र तरिकाले अपमानजक लान्छना लगाएको कार्यले सिङ्गो पत्रकार जगतलाई दुःखी तुल्याएको विज्ञप्तिमा जनाइएको छ ।
ढुङ्गा, गिट्टीका सन्दर्भमा पत्रकार सम्मेलन भनी बोलाएर नियोजित ढङ्गले पत्रकारमाथि नै हातपात र दुव्र्यहवार गर्ने कार्यको निन्दा र भत्र्सना गर्दै कुनै पनि समाचारको विषयमा चित्त नबुझे त्यसको खण्डन गर्ने अधिकार सुरक्षित हुँदाहुँदै प्रशस्त मात्रामा भिड जम्मा गरी त्रासको वातावरण निर्माण गर्नु प्रेस स्वतन्त्रता माथीको ठाडो प्रहार भएको महासङ्घका अध्यक्ष ओमकार आचार्य र सचिव उज्वल पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता किसिमका अभद्र र अमर्यादित क्रियाकलाप तत्काल सच्याउँदै आगामी दिनमा यस्ता गतिविधि पनुरावृत्ति नगर्न, पत्रकारलाई निर्वाध र भयमुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
यसैबिच पत्रकारहरूलाई अभद्र व्यवहार गरेको आरोप लागेकी शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईलीले पत्रिकामा प्रकाशित समाचारको बारेमा आफूले स्पष्टिकरण दिने क्रममा स्वयम् पत्रकार औँला उठाउँदै आफूमाथि नै आक्रमण गर्न आएपछि सो कार्यक्रममा उपस्थित केही नगरवासीहरू पत्रकारहरूसँग आक्रोशित र उत्तेजित भएको र सो क्रममा केही भनाभन भएको बताइन् ।
उनले सो घटनाको बारेमा सभाकक्षमा जोडिएको सिसि क्यामेरामा सबै दृश्य कैद भएको र त्यसमा सबै प्रमाणहरू रहेको बताइन् ।