महोत्तरीको भङ्गहा नगरपालिकाकी एक दलित बालिकालाई आमाकै सहयोगमा रोजगारीको प्रलोभनमा पारी भारतको राजधानी दिल्ली पुर्याएर १५ दिनसम्म बन्धक बनाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
१२ वर्षीया बालिकालाई आमाको सहयोगमा जेठ २७ गते स्थानीय ४० वर्षीय सियाराम महतोले दिल्ली पुर्याएको पीडित पक्षको आरोप छ ।
पीडित बालिका, उनकी आमा र सियाराम अचानक लामो समयसम्म गाउँमा नदेखिएपछि उनीहरूको खोजविन गर्दा झण्डै १२ दिनपछि सियारामले दिल्ली लगेको खुलेको थियो ।
दिल्ली लगेको जानकारी पाएपछि बालिकाकी ठूलीआमा (मौसी) ले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहिनी र छोरीलाई सियारामले दिल्ली लगेको भनी सियाराम र उनका बुबा रामअशिश महतोविरूद्ध निवेदन दिएकी थिइन् ।
असार १६ गते साँझ सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । तर, प्रहरीमा निवेदन दिएको जानकारी पाएर सियाराम र पीडित बालिकाकी आमा फरार भए ।
पीडित बालिकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी छिन् । गत असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाई बलात्कार गरेका सियाराम, उक्त घटनामा सहयोग गरेको आरोपमा उनका बुबा रामअशिश महतो र स्थानीय रामजतन महतोविरूद्ध पीडित बालिकाले उजुरी दर्ता गराएकी छिन् ।
उजुरी परेको दिन नै पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
‘बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ । मुख्य आरोपित र बालिकाकी आमा फेरि भारततिर भागेको आशङ्का छ ।’ एसपी अधिकारीले भने–‘हामी खोजविन गरिरहेका छौँ । यो गम्भीर प्रकृतिको घटना हो । अपराधिलाई हरहालतमा कारबाहकिो दायरामा ल्याउँछौँ ।’