माओवादीका बहिर्गमित पूर्व लडाकुद्वारा नयाँवानेश्वरस्थित संसद भवन अगाडि कात्तिक २५ गते पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरूले नयाँ बानेश्वरमा आज दिनभर धर्ना दिएका छन् । विभिन्न सात बुँदे माग राख्दै उनीहरू कात्तिक २२ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा छन् । कात्तिक २२ गते उनीहरूले एकीकृत नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिनुका साथै तालाबन्दी गरेका थिए ।
आफ्ना माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले बताए । उनले सशस्त्र द्वन्द्वको अवधिमा बाल्य अवस्थामा नै आफूहरूलाई जबरजस्ती बन्दुक बोकाएर अहिले घर न घाटको बनाएको आरोप लगाए ।
अध्यक्ष विष्टले युद्धमा बालबालिकाको प्रयोगले अन्तर्राष्ट्रिय कानुन र मापदण्ड विपरित रहेको भन्दै सोही अनुरूप बहिर्गमित पूर्व लडाकुहरूलाई न्यायिक क्षतिपूर्ति दिन माग गरे । उनले पूर्व लडाकुहरूको समस्याप्रति राज्यलाई गम्भीर बन्न आग्रह गर्दै लडाकुहरूलाई न्यायको साथै उचित राहत तथा क्षतिपूर्ति, शिक्षा, स्वास्थ्य र रोजगारी व्यवस्था गर्न माग गरे ।
बहिर्गमित जनमुक्ति सेना नेपालले निशर्त ‘अयोग्य’ शब्दको बिल्ला हटाइनुपर्ने र गणतन्त्र नेपाल स्थापना गरेको भूमिकाको उच्च कदर गर्दै राष्ट्रिय सम्मान पत्र दिनुपर्ने, पूर्व जनमुक्ति सेना नेपाल सो सरह नेपाल सरकारले बहिर्गमित जनमुक्ति सेनाका ४ हजार ९ जनालाई दीर्घकालीन व्यवस्थापन गनुपर्ने, युद्धमा बालबालिकाको दुरूपयोग, बालअधिकार हनन् भएकाले त्यसतर्फ नेपाल सरकार र सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने, बालअधिकारको सुनिश्चित गर्न तत्कालीन द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट भएका बालअधिकार हनन् घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार न्याय पाउनुपर्ने, घाइते तथा अपाङ्गता भएका बहिर्गमित जनमुक्ति सेनाको सम्पूर्ण स्वास्थ्य उपचारको खर्च सरकारले लिनुपर्ने लगायतका सात बुँदे माग राखेको छ ।
यसैबिच बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध पूर्व माओवादी लडाकुहरूले नयाँ शक्ति पार्टी नेपालको कार्यालयमा कात्तिक २५ गते साँझबाट धर्ना सुरु गरेका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टका अनुसार दिउँसो ४ बजेदेखि बबरमहलस्थित नयाँ शक्ति पार्टी नेपालको कार्यालय परिसर भित्र धर्ना कार्यक्रम सुरू गरिएको हो ।
कार्यालय परिसरमा धर्ना दिएसँगै नयाँ शक्ति पार्टीका केही नेताले बहिर्गमित पूर्व माओवादी लडाकुको समस्या बारे छलफल गर्न र निकास निकाल्न तयार रहेको बताएको अध्यक्ष बिष्टले जानकारी दिए । यद्यपी माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

फोटो: बिमलचन्द्र शर्मा