१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालकलाई पाँच वर्ष कैद सजाय र पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश अम्बिकाप्रसाद निरौलाको असार २९ गतेको इजलासले घटनाको समयमा बालक १५ वर्षको भएको हुँदा १० वर्ष कैदको आधा पाँच वर्ष कैद र सो क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिए ।
आरोपित बालकसँग सो क्षतिपूर्ति रकम भराउने हैसियत नभएको हुँदा नेपाल सरकारको कोषबाट क्षतिपूर्ति रकम भराउने आदेश भएको समेत सूचना अधिकृत कार्कीले जानकारी दिए ।
पीडित बालिकालाई आरोपित बालकले ०७५ असार २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित बालकलाई सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २३ गते नै भरतपुर अस्पताल चितवनमा गरिएको थियो ।