INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या गर्न बाध्य बनाउने पतिलाई थुनामा राख्ने आदेश

हेटौँडा उपमहानगरपालिका–३ की ३५ वर्षीया सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा गिरफ्तारीमा परेका ४५ वर्षीय पति राजु थिङलाई जिल्ला अदालत मकवानपुरले थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश खडानन्द तिवारीको असार १३ गते बसेको इजलाशले यस्तो आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार केशव कौशिकले जानकारी दिए ।

आरोपित पतिले आफूलाई पटकपटक कुटपिट गर्दै आएको भन्दै सोनुले पतिविरूद्ध हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिमा गत वैशाख १७ गते उजुरी दिएकी थिइन् ।

पतिले सधैँ कुटपिट गर्ने गरेकाले आत्महत्या गरौँ जस्तो भइसक्यो भनी उजुरी समेत दिएको न्यायिक समिति संयोजक मिना लामाले बताइन् ।

न्यायिक समितिमा उजुरी दिएको एक महिना बित्न नपाउँदै जेठ १६ गते सोनुले घरमै झुण्डिएर आत्महत्या गरेकी हुन् ।

घटनापछि मृतक सोनुका दाजु लालबहादुर ब्लोनले बहिनीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै कारवाहीको माग सहित जेठ १७ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपित थिङलाइ जेठ १८ गते गिरफ्तार गरिएको उक्त कार्यालयका डिएसपी अक्षप्रसाद भट्टराईले बताए ।

शवको पोष्टमार्टम जेठ १६ गते जिल्ला अस्पताल हेटौँडामा भएको थियो ।

आत्महत्या दुरूत्साहन मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म दण्ड गर्न सक्ने कानुनी व्यवस्था रहेको जिल्ला अदालतका श्रेस्तेदार केशव कौशिकले बताए ।

अन्य

भिडियो