सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबिच असार १६ गते बिहान गोली हानाहान भएको छ ।
सिलिचोङ गाउँपालिका–१ होयङलामा प्रहरी र सो पार्टीका कार्यकर्ताबिच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिमबहादुर लामाले बताए ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबिच गोली हानाहान भएको लामाले बताए ।
दुर्गम क्षेत्रका रूपमा रहेको उक्त ठाउँमा गस्तीमा रहेको प्रहरी र विप्लवका कार्यकर्ताबिच जम्का भेट भएपछि गोली हानाहान भएको हो ।
लामाले भने–‘घटनाको जानकारी पाएपछि जिल्ला र नजिकको पोस्टबाट पनि थप बल त्यसतर्फ पठाएका छौँ ।’
सदरमुकाबाट दुई दिन पैदल उत्तर क्षेत्रमा रहेको उक्त स्थानमा प्रहरी टोली गइसके पनि पुग्न सकेको छैन ।
घटनास्थलबाट पारीको गाउँमा रहेको सिलिचोङ गाउँपालिका–१ का वडाअध्यक्ष अलक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको बताए ।
सिलिचोङ गाउँपकिालका–१ (साविक सिसुवा गाउँ विकास समिति–४ हयोङ्ला) मा गोली चलेको उनले जानकारी दिए ।
‘बिहान १० बजेतिर मकै पड्केको जस्तो सुनियो । एकै चोटी धेरै गोली चलेको सुन्यौँ ।’–उनले भने–‘कसले गोली चलाएको हो भन्ने हामीलाई थाहा छैन ।’
प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालका अनुसार गोली चलेपछि तनावपूर्ण अवस्था छैन । ‘घटनापछि त्यहाँ विप्लवका कार्यकर्ता र प्रहरी देखिएका हुन् ।’–उनले भने–‘अहिलेसम्म अप्रिय खबर नसुनेकाले एकअर्कालाई तर्साउन गोली चलाएको हुनसक्छ ।’
गोली हानाहानपछि ताम्कु र सिसुवाबाट नेपाल प्रहरीको टोली त्यहाँ गइसकेको छ । खाँदबारीस्थित अरुण गुल्म चैनपुरबाट सशस्त्र प्रहरीको २० जनाको टोली पहिले नै त्यस क्षेत्रमा गस्तीमा थियो ।
त्यो टोली पनि घटनास्थलतर्फ केन्द्रित भएको प्रमुख जिल्ला अधिकारी दुलालले बताए । घटनास्थल शिलिचोङ गाउँपालिकाको केन्द्रबाट २० किलोमिटर पर छ । यो स्थान सोलुखुम्बु, भोजपुर, खोटाङ र सङ्खुवासभाको सङ्गमस्थल क्षेत्र नजिकै पर्छ ।
काठमाडौँबाट नेपाली सेनाको तीन ओटा हेलिकप्टरमा ५० जना सुरक्षाकर्मी घटनास्थलतर्फ लागेको जनाइएको छ । अहिले (दिउँसो २ः३० बजे) जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको छ ।