INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्ः सरोकारवाला

‘नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्’–काठमाडौँमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले यस्तो माग गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार ५ र ६ गते काठमाडौँमा आयोजित नागरिक सङ्गठनको जबाफदेहिता, प्रभावकारिता र आन्तरिक सुशासनका चुनौती तथा सुधारका आधार विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा इन्सेककी अध्यक्ष इन्दिरा श्रेष्ठले समाजमा स्थापना भएका विभिन्न सङ्घसंस्थाहरूको भूमिका र त्यसका कार्यक्षेत्रहरूमा परेका र पर्न सक्ने असरका बारेमा विचार राखिन् ।

उनले २०४६ सालपछि स्थापना भएका संस्थाहरूलाई हाल आएर संस्थाको साख जोगाउन पनि मुस्किल पर्ने स्थिति नल्याउन सरकारलाई खबरदारी गर्न आवश्यक रहेको बताइन् ।

पछिल्लो समय नागरिक समाजलाई सरकारले नियमन गर्ने भन्दा नियन्त्रण गर्ने प्रवृत्ति हावी भएकोमा श्रेष्ठले चिन्ता समेत व्यक्त गरिन् । उनले भनिन्–सरकारले नियन्त्रण होइन नियमन गरोस् ।’

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नागरिक समाजलाई पनि श्रेणीगत रूपमा विभाजन गर्दै यसको महत्वलाई ओझेलमा पार्न नहुने बताए ।

विभिन्न नागरिक समाजमा आबद्ध रहेका युवाहरूलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जितराम लामाले नागरिक समाज र यसको भूमिका तथा उद्देश्य माथि प्रकाश पारे ।

गोगो फाउण्डेशनका अध्यक्ष केदार खड्काले अबको नागरिक समाजले अन्तराष्ट्रिय दाताहरूको खोजीले कार्यक्रम गर्ने भन्दा पनि नेपालमा स्थापना भएका ठूला आयोजनाहरूलाई नै विकासको मूलधारमा ल्याएर विकासको रेखा कोर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा आजका युवाहरूमार्फत नै अबको नागरिक समाजको गोरेटो तय हुने भएकाले त्यसको हरेक क्षेत्रको सिकाई र निरन्तरतालाई उनीहरूले जिम्मेवारीका साथ लिन कार्यक्रमले सहयोगी भूमिका खेलेको जनाइएको छ ।

अन्य

भिडियो