मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौँ वार्षिकोत्सवको अवसरमा भएको झडपका क्रममा एक प्रहरी घाइते भएका छन् । सो क्रममा प्रहरीले १४ जना विद्यार्थीलाई गिरफ्तार गरेको छ ।
असार ३ गते विश्वविद्यालयले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा काठमाडौँका विभिन्न निजी कलेजहरूले सौजन्यस्वरूप प्रदान गरेको टिसर्ट बाँडिएको विषयलाई लिएर विद्यार्थीहरूले विरोध गर्दा झडप भएको थियो ।
आन्दोलनरत विद्यार्थीहरूले ढुङ्गा प्रहार गर्दा जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी जवान ३० वर्षीय सुरेन्द्र महत घाइते भएका छन् ।
नाकको डाँडी भाँचिएका घाइते महतको सुर्खेतस्थित देउती नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदिपकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
सो घटनामा गिरफ्तार हुनेमा अनेरास्ववियु सुर्खेतका अध्यक्ष २८ वर्षीय धुपेन्द्र शाही, नेविसङ्घका केन्द्रीय सदस्य ३६ वर्षीय हरि शर्मा, २४ वर्षीय न्युटन ओली, २७ वर्षीय अमरजङ्ग शाही, २५ वर्षीय सरोज न्यौपाने, २६ वर्षीय भरत गौतम, २५ वर्षीय नवीनकुमार योगी, २७ वर्षीया तिर्सना हमाल, २५ वर्षीया ममता अधिकारी, २५ वर्षीय गणेश शाही, २६ वर्षीय राजन केसी, २८ वर्षीय महेन्द्र थापा, २७ वर्षीय चित्र सुनार र २५ वर्षीय जनक धमला रहेका छन् ।
बिहान साढे ७ बजे विश्वविद्यालयको वार्षिकोत्सव सुरू हुनासाथ सौजन्यस्वरूप प्रदान गरिएको टिर्सट नलगाई वार्षिकोत्सव समारोह सञ्चालन गर्नुपर्ने माग राखी विद्यार्थीहरूले कार्यक्रम अवरोध गरका थिए ।
विश्वविद्यालयले भने विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरूलाई सौजन्य स्वरूप प्रदान गरिएको टिसर्ट अनिवार्य लगाएर वार्षिकोत्सवमा उपस्थित हुन निर्देशन गरेको थियो ।
सौजन्य स्वरूप प्रदान गरेका टिसर्टलाई वार्षिकोत्सवमा नलगाउन विद्यार्थी सङ्घ सङ्गठनहरूले पटक पटक दबाव, छलफल तथा ज्ञापनपत्र बुझाएपनि विश्वविद्यालय प्रशासनले यसको उपेक्षा गरेकोले आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको अनेरास्ववियु, सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले बताए ।



