महिला अधिकारका लागि सचेत र सङ्गठित हुन सके मात्र महिला सशक्तिकरण र सहभागिता बढने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
वियोण्ड बेइजिङ कमिटी (बिबिसी) को आयोजना र थारु महिला उत्थान केन्द्र गुलेरिया बर्दियाको संयोजनमा प्रदेश ५ को बुटवलमा सम्पन्न बेइजिङ प्लस २५ समीक्षामा सहभागी सरोकारवालाहरूले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा संविधानसभाका सांसद कमला विश्वकर्माले बेइजिङ सम्मेलन र सम्मेलनले उठान गरेका १२ ओटा सवालहरूका विषय तथा सन् १९९५ मा चिनको राजधानी बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनका लागि नेपालमा महिला अधिकारका क्षेत्रमा लागेका सचेत र सङ्गठित नागरिक समाजका महिलाहरूले सम्मेलनका लागि सन् १९९४ देखि नै सक्रिय रूपमा लागेको इतिहास रहेको बताइन् ।
उनले ‘विश्वलाई महिलाको आँखाले हेरौँ’ भन्ने नाराका साथ चौथो विश्व महिला सम्मेलनले महिला र बालिकाको सवालमा अधिकारमुखी विकासको अवधारणालाई स्थापित गरेको र सम्मेलन पश्चात ‘महिला अधिकार मानव अधिकार’ र ‘मानव अधिकार महिला अधिकार’ भन्ने सिद्धान्त एवम् मर्म स्थापित गरेको बताइन् ।
सन् २०२० मा चौथो विश्व महिला सम्मेलनले २५ औँ वर्ष पुरा गर्दैछ । त्यसैले, आउँदो वर्ष सन् २०२० विश्वका महिला र बालिकाको अधिकारका लागि सङ्घर्ष गर्दै आएकाहरूका लागि अत्यन्तै हर्ष र महत्वपूर्ण वर्ष सावित हुने उनको भनाई छ ।
प्रदेश सभा सांसद जाल्पा भुसालले समाजमा महिलालाई हेर्ने दृष्किोण र चिन्तन फेरिन नसक्दा समस्या भएको बताइन् ।
उनले समाजमा रहेको विभेद र सोचलाई परिवर्तन गर्न र विभेदको जालोलाई नतोडेसम्म समस्या जस्ताको तस्तै रहने बताइन् ।
प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अञ्जली थारूले महिलाहरुलाई समाजमा हेर्ने दृष्टिकोण विभेदपूर्ण रहेकोले यसको परिवर्तन नभएसम्म समाज परिवर्तन नहुने बताइन् ।
गैरसरकारी संस्था महासङ्घककी केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले यो सम्मेलनले महिला र बालिकाको क्षेत्रमा नेपालले धेरै फड्को मारेको बताइन् ।
कार्यक्रममा प्रदेश ५ का १२ ओटै जिल्लाका महिला अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण इन्सेक केन्द्रिय कार्यालयका सम्झा श्रेष्ठ, थारु महिला उत्थानका प्रिज्मा थारु र संविधान सभा सांसद कमला विश्वकर्माले गरेका थिए ।

