चितवनको माडी स्थित बादरमुढे घटनाका पीडितहरूले अझै राहत नपाएको भन्दै गुनासो गरेका छन् । तत्कालीन नेकपा माओवादीले २०६२ साल जेठ २३ गते ना १ ख ३२४५ नम्बरको सार्वजनिक बसमा विष्फोट गराउँदा घटना स्थलमै ३८ जनाको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए ।
घटना भएको १४ वर्ष बितिसक्दा पनि आफन्त गुमाएका र अपाङ्गता भएकाहरूले कुनै राहत नपाएको भन्दै राज्यबाट अन्यायमा परेको गुनासो गरेका छन् ।
राहतको सट्टा पीडितलाई आहात बनाइएकोे भन्दै बाँदरमुढे घटनाका पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले चिन्ता ब्यक्त गरे ।
न्यौपानेका अनुसार उक्त घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि सेवन गरिरहेको र सात जना मानसिक रोगबाट ग्रसित रहेका छन् । उनीहरूको औषधि उपचारमा राज्यबाट समेत बेवास्ता गरिएको न्यौपानेको आरोप छ ।
तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चितवन जिल्लाको क्षेत्र नं. ३ का सासंदमा निर्वाचित भएको भएपनि हालसम्म विभिन्न आश्वासन बाहेक कुनै किसिमको राहत नदिएको पीडितहरूले बताए ।
अध्यक्ष दाहालले मृतकका परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमति पत्रमा घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने र घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बाँदरमुढेमा १० विगाह जमीनमा नमूना सङ्ग्राहलय बनाउने उल्लेख थियो ।
हरेक वर्ष झैँ यस वर्ष पनि पीडित परिवारका सदस्यहरूले घटना स्थलमा धुपवत्ति बालेर मृतकहरूको सम्झना गरेका छन् ।