नेपालका लागि नेपाली नामक संस्थाका पदाधिकारी तथा अभियान्ताहरू ज्ञानेन्द्रबहादुर शाही लगायत नौ जनालाई प्रहरीद्वारा सुर्खेत जिल्लाबाट गिरफ्तार पछि कुटपिटबाट घाइते बनाएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
प्रहरीको कुटपीटबाट घाइते भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत ज्ञानेन्द्रबहादुर शाहीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको टोलीले जेठ १७ गते अनुगमन गरेको थियो ।
‘प्रहरी हिरासतमा कुटपिटका कारण शाहीको गोडामा चोट लागेको र निजलाई गिरफ्तार गर्दा पक्राउ पुर्जी नदिएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ । यस सम्बन्धमा आयोगले थप अनुसन्धान गरीरहेको छ ।’–आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा जेठ २० गते जारी विज्ञप्तिमा जनाइएको छ ।
शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको सम्मान गर्न, प्रहरीको यातनाका कारण घाइते भएका शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न, घरपरिवारलाई भेटघाटको व्यवस्था मिलाउन आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।