राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानवअधिकार रक्षकहरूको जोखिम कम गर्न अधिकारकर्मीबिचको एकतामा जोड दिएका छन् ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्ज र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जद्वारा दैलेख जिल्लाको मानव अधिकार अवस्था र मानव अधिकार रक्षकका चुनौती विषयमा कात्तिक १० गते आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगका क्षेत्रीय निर्देशक खरेलले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा क्षेत्रीय निर्देशक खरेलले परियोजनामूखी अधिकारकर्मी वास्तविक अधिकारकर्मी हुन नसक्ने टिप्पणी गरे ।
कार्यक्रममा इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले सशस्त्र द्वन्द्वको अवधिको तुलनामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका स्वरुप र शैली बदलिएको बताए । उनले भने-‘त्यसबेला हत्या हुन्थ्यो । अहिले धम्की आउँछ ।’
नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नमनकुमार शाहीले कुनै घटना हुँदा जस लिने नाममा एक्लै अगुवा गर्न खोज्दा अधिकारकर्मी असुरक्षित हुने गरेको विचार राखे । महिला सशक्तिकरण मञ्चकी अध्यक्ष डीलकुमारी चन्दले हिंसामा परेका महिलाको संरक्षण गर्ने सेल्टर नहुँदा मुद्दा अदालतमा पुग्दा होष्टाइल हुने गरेको बताएकी छन् ।
कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले दैलेखमा हाल सञ्चालन भइरहेको बालविवाह रोकथाम अभियान र त्यसमा जुटेका अधिकारकर्मीहरू असुरक्षित रहेको औँल्याए । ज्येष्ठ नागरिक समाजका अध्यक्ष वीरबहादुर भण्डारीले ज्येष्ठ नागरिक भत्ता सहज र सुलभ तरिकाले वितरण गर्नुपर्ने बताउँदै अस्पताल र यातायात क्षेत्रमा ज्येष्ठ नागरिकलाई सहुलियत नदिएको गुनासो गरे ।


