INSEC Online

📅 २०८३ जेष्ठ २२

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारद्वारा प्रदर्शन

नेपाल पत्रकार महासङ्घ केन्द्रको आह्वानमा मिडिया काउन्सिल विधेयकको विरोधमा जेठ ३ गते विभिन्न जिल्लामा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार जेठ ३ गते काठमाडौँको नयाँ बानेश्वरमा र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले सञ्चार साधनसहित प्रदर्शन गरेका हुन् ।

काठमाडौँको नयाँ बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरू सहभागी भएका थिए ।

पत्रकारहरूले सञ्चार साधन भुइँमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको साङ्केतिक विरोधमा केहीले कालोपट्टीले मुख बाँधेका थिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासङ्घले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने माग गर्दै आएको छ ।

आफूले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासङ्घले जनाएको छ ।

विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउन थालेको महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले आरोप लगाए ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पत्रकारहरूले सञ्चार सामग्री सहित प्रदर्शन गरेका छन ।

नेपाल पत्रकार महासङ्घ सिन्धुलीको आयोजनामा भएको प्रदर्शनमा महासङ्घका कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू, पत्रकार महासङ्घका पूर्व तथा वर्तमान पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

मिडिया काउन्सिल विधेयकका ‘प्रेस विरोधी’ बुदाँहरूको खारेजी गरी प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन गरिएको पत्रकारहरूले जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ, सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीले विधेयकमा रहेका प्रेस विरोधी प्रावधान हटाई छलफल र परामर्शबाट विधेयक पास गर्न सरकारसँग माग गरे ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको रुपन्देहीका पत्रकार तथा सञ्चारकर्मीहरूले विरोध जनाएका छन् ।

पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना दिएर मिडिया काउन्सिल विधेयकको विरोध जनाएका हुन् ।

बालकृष्ण चापागाई, विनोद पहाडी, दिनेश पाण्डे, यानेन्द्र जिसीलगायतले सरकारले ल्याएको विधेयक मिडिया र सञ्चारको मर्म विपरीत भएको र प्रेस स्वतन्त्रताको विरूद्ध भएकाले विरोध गर्नु परेको बताए ।

पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयको परिसरमा क्यामरालगायतका उपकरणहरू सडकमा राखेर प्रर्दशन गरेका थिए ।

अन्य

भिडियो