इन्सेक केन्द्रीय कार्यालयमा सम्पन्न भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका कर्मचारीसँगको छलफल कार्यक्रममा पीडितको न्यायको लागि इन्सेक सदैव हातेमालो गर्न तयार रहेको कार्यकारी निर्देशक विजयराज गौतमले बताएका छन् ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अभिलेख र उनीहरूको परिवारको न्यायका लागि इन्सेकले गरेको पहल सम्बन्धमा जानकारी लिन आयोगको तर्फबाट आयोगका सहसचिव इश्वरीप्रसाद ढकालको नेतृत्वमा आएको टोलीसँग इन्सेकले बेपत्ता पारिएका नागरिकलगायत मानव अधिकारको क्षेत्रमा गरेको कामका सम्बन्धमा छलफल गरिएको थियो ।
सो क्रममा कार्यकारी निर्देशक गौतमले इन्सेकले सन् १९९२ देखि नै मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेख राख्दै आएको र यो अवधिमा सशस्त्र द्वन्द्वको अवधि पनि परेकाले सो अवधिको पनि मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेख गरेको जानकारी दिए ।

इन्सेक प्रदेश ३ संयोजक कृष्ण गौतमले इन्सेकले देशका सबै जिल्लामा इन्सेक प्रतिनिधि रहेका र उनीहरूबाट थलोमै गएर बेपत्ता परिवार, आफन्त तथा प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा पीडित पाश्र्वचित्र तयार गरिएको जानकारी दिए ।
उनले बेपत्ता पारिएका व्यक्तिको परिवारको पीडा बेग्लै रहेको र त्यो सबैले महसुस गर्न नसकिने भएकाले उनीहरूको हकमा आयोगले पहिलो प्राथमिकतामा राखेर सत्यतथ्यको आधारमा न्याय दिनु पर्ने आयोगलाई सुझाव दिए ।
यसैगरी, इन्सेक प्रलेख तथा प्रसार कार्यक्रमका प्रमुख मदन पौडेलले बलपूर्वक बेपत्ता पारिएकाहरूको छुट्टै अभिलेख गरिएको भए पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा सम्बन्धित वर्ष बेपत्ता पारिएकाहरूको विवरण र तथ्याङ्कसमेत समेटिएको बताए ।

उनले भने‘‘विगतमा बेपत्ता पारिएका नागरिकको खोजविनका लागि दबाब दिन र उनीहरूको अभिलेख राखेर पीडितको आवाजलाई मुखरित गर्न इन्सेकले पहल गरेको छ ।’
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सहसचिव ढकालले इन्सेकले उपलब्ध गराउने अभिलेख पीडितको न्यायका लागि प्रमाणकै रुपमा राख्न सकिने हुँदा यसले आयोगको छानबिन र अनुसन्धानलाई सहयोग पुग्ने बताए ।
इन्सेकको मानव अधिकार पुस्तकालयमा सशस्त्र द्वन्द्वका समयमा प्रकाशन भएका पत्रपत्रिका, प्रेस विज्ञप्ति, फोटो तथा सूचनाको अभिलेख रहेको पुस्तकालय प्रमुख विमलचन्द्र शर्माले जानकारी दिए ।
