INSEC Online

📅 २०८३ जेष्ठ २२

नेकपाका इञ्चार्ज र सेक्रेटरी रिहा लगत्तै गिरफ्तार

जिल्ला अदालत गोरखामा ५–५ हजार रुपियाँ धरौटी बुझाएर वैशाख २७ गते रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज ४७ वर्षीय योगेन्द्र कुमाल र सेक्रेटरी ३७ वर्षीय कपिल भट्टलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

रिहा भए लगत्तै अदालतबाटै उनीहरूलाई वैशाख २७ गते पुनः गिरफ्तार गरिएको हो । उनीहरूलाई वैशाख २२ गते पालुङटार नगरपालिका–७ च्याङ्लीबाट गिरफ्तार गरी राजद्रोह अन्तर्गत मुद्दा दर्ता भएको  थियो ।

राजद्रोहको मुद्दामा धरौटीमा रिहा भएपनि अझै उनीहरू विरूद्घ तीन उजुरी रहेको एसपी भोला रावलले बताए  ।

जिल्लाको विभिन्न स्थानमा बम राखेको, एनसेल टावरमा आगजनी तथा चन्दा असुलि गरेको उजुरीको छानविनका लागि गिरफ्तार गरिएको एसपी रावलको भनाइ छ ।

कुमालको स्थायी घर गोरखा नगरपालिका–१२ दशकिलो हो भने भट्ट भिमसेन थापा गाउँपालिका–१ मसेलका हुन् ।

वैशाख ९ गते गिरफ्तार परेका नेकपाका जिल्ला जनपरिषद प्रमुख ६५ वर्षीय विष्णु रिजाल र वैशाख २ गते गिरफ्तारमा परेकी जिल्ला कमिटि सदस्य ३५ वर्षीय अञ्जु कुमाल भने वैशाख २७ गते गोरखा अदालतमा ५–५ हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् ।

रिजाललाई उनकै निवास गण्डकी गाउँपालिका–७ घ्याल्चोक र गोरखा नगरपालिका–६ बसपार्क घर भएकी कुमालाई सोही वडाको हरमटारीबाट गिरफ्तार गरी राजद्रोह अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

अन्य

भिडियो