बलात्कार घटनाका कारण पीडित भएकी बालिकालाई न्यायको माग गर्दै स्थानीय महिलाहरूले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वैशाख २२ गते ढुङगामुढा गरेका छन् ।
प्रदर्शनकारी महिलाहरूको ढुङ्गामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयको झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।
न्यायको माग गर्दै प्रदर्शनमा उत्रेका महिलाहरूले प्रहरी प्रशासन विरूद्ध नारावाजी गर्दै ढुङ्गामुढा गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडपसमेत भएको थियो ।
प्रदर्शनकारीहरूले गलत र कानुन विपरित मृत्युदण्ड दिनु पर्ने माग राखी सडक जाम गरी प्रदर्शन गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दहालले बताए ।
बाटो खाली गराउन र स्थितिलाई नियन्त्रणमा लिन समान्य लाठी चार्ज गरेको इन्स्पेक्टर दाहालले बताए । तर, कुनै महिलालाई लाग्ने गरी लाठी चार्ज नभएको उनको भनाई छ ।
१४ वर्षीया बालिकालाई क्षीरेश्वरनाथ नपा–५ का ३३ वर्षीय राजकुमार साहले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपित साहलाई वैशाख १६ गते नै गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको इन्स्पेक्टर दाहालले बताए ।
पीडित बालिकाको उपचार जनकपुर अञ्चल अस्पतालमास म्भव नभएपछि थप उपचारको लागि ललितपुर स्थित पाटन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।