१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको अधिकारर्मीहरूको टोलीले स्थलगत अध्ययन गरी घटनाको बारेमा जानकारी लिएको छ ।
अधिकारकर्मीहरूको टोलीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा वैशाख १५ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको सन्दर्भमा चासो राखी वैशाख १९ गते अनुगमन गरेका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत रेखा दत्त, इन्सेक प्रदेश २ संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजय शाह, ओरेक धनुषा संयोजक रोजलिन बच्छार, महिला अधिकारकर्मी जमुना भुजेल र मीना केसीको संयुक्त टोलीले पीडित परिवारसँग भेटघाट गर्नुको साथै घटनास्थल र घटनाबारे जानकारी लिएका थिए ।
उक्त टोलीले इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज तथा इन्स्पेक्टर अमिर दाहालसँग भेट गरी दोषी उपर कारवाही प्रकृयाको अवस्थाबारे समेत जानकारी लिएका थिए ।
सो क्रममा पीडित परिवारले पीडित बालिकाको स्वास्थ्य अवस्था ठीक नरहेको र बालिका छिनछिनमा मुर्छा पर्ने, बोल्न नसक्ने, रूने कराउने गरेकोले हालसम्म उपचारार्थ अस्पताल भर्ना गरिएको जनाए ।
पीडित बालिकाको उपचार अहिले जनकपुरस्थित एक निजी नर्सिङ्ग होममा भइरहेको पीडित परिवारबाट जानकारी भए पश्चात टोलीले अस्पतालमै गएर उनको स्वास्थ्य अवस्था बारे समेत चिकित्सकसँग जानकारी लिएका थिए ।
उपचारमा संलग्न चिकित्सकले अहिले बालिका मानसिक रूपमा डराएको र विस्तारै स्वास्थ्यमा सुधार हुने बताए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज तथा इन्स्पेक्टर दाहालले पीडित पक्षले वैशाख १६ गते दिएको किटानी जाहेरीको आधारमा मुद्दा दर्ता गरी सोही दिन आरोपित ३३ वर्षीय राजकुमार साहलाई गिरफ्तार गरिएको बताए ।
उनले पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा गराइएको र आरोपित साहविरूद्ध मुद्दा चलाइएको जानकारी दिए ।