महिनावारी (छाउ) भएको समयमा साइपाल गाउँपालिकाका छात्राहरूले विद्यालय जान नपाएको गुनासो गरेका छन् ।
गाउँपालिका नजिकै रहेको काँडा माध्यमिक विद्यालयको बिच प्राङ्गणमा भवानीको मन्दिर भएका कारण यहाँ पढ्ने छात्राहरू महिनावारी भएको समयमा ५/६ दिनसम्म विद्यालयमा नगएर घरमै बस्ने गरेका छन् ।
विद्यालयको बिच प्राङ्गणमा मन्दिर भएका कारण महिनावारी भएको समयमा विद्यालयमा जाँदा अनिष्ट हुने, पछि गएर वंश नै नास हुने, घर, परिवारमा राम्रो नहुने, लगायतका कुसंस्कार अहिले पनि विद्यमान रहेका कारण कक्षा १० मा अध्ययन गर्दा एक महिनामा ६ दिनसम्म विद्यालयमा नगएर बसेको मनिषाकुमारी बोहराले बताइन् ।
‘विद्यालयको चौरको बिचैमा भवानीको मन्दिर छ । विद्यालयमा जाने बित्तिकै देउता लागिहाल्छन रे ! पछि गएर नराम्रो हुन्छ भन्छन् । घर परिवारका सदस्यहरू पनि महिनावारी भएको समयमा नजानु भन्नुहुन्छ । त्यसैले यहाँका सबै छात्राहरू महिनावारी भएको समयमा विद्यालयमा नगई मेलापात र घाँसदाउरा गर्न जान्छौँ ।’–कक्षा १० मा अध्यनरत छात्रा विमलाकुमारी बोहराले भनिन् ।
‘हामीभन्दा अघि पढ्ने दिदीहरू पनि महिनावारी भएको समयमा विद्यालयमा जाँदैन थिए ।’–उनले भनिन्–‘महिनावारी भएको समयमा विद्यालयमा जाँदा मुर्छा पर्ने, बेहोस हुने भएका कारण पनि हामीहरू महिनावारी (छाउ) भएको समयमा विद्यालय जान डर लाग्छ र जाँदैनौ ।’
‘हामीहरू महिनावारी भएको समयमा विद्यालयमा परीक्षा चलेको भए विद्यालयको छेउ कुनासम्म गएर परीक्षामा सहभागिता हुन्छौँ । तर, निकै लाज लाग्छ ।’–रम्पाकुमारी बोहराले भनिन्–‘धेरै जस्तोले त परीक्षा समेत छाडिदिन्छन् ।’
विद्यालयमा महिनावारी भएको समयमा जाँदा अलग बस्नु पर्ने कुप्रथाका कारण साथी सङ्गीहरूले जिस्क्याउने र गिज्याउने भएका कारण धेरै जस्तो छोरीहरूले विद्यालय नै नआउने गरेको स्थानीयको भनाई छ ।
यहाँका स्थानीयले आफ्ना छोरी कसैलाई पनि महिनावारी भएको समयमा विद्यालय नपठाइ घरमा नै राख्ने गरेको साइपाल गाँउपालिकाकी चम्पा पोखरेल बोहराले बताइन् ।
उनले भनिन्–‘यहाँका नागरिक कानुनभन्दा पनि बढी डर देवी देउता मान्छन् । विद्यालयको बिचमा भवानीको मन्दिर छ । यो विद्यालयमा पढ्ने र छाउ भएका सबै छात्राहरू महिनाको पाँच दिन अनिवार्य रूपमा विद्यालय आउँदैनन् ।’
यसको अन्त्यका लागि अरू केही पनि विकल्प नरहेकाले कि मन्दिरलाई सार्नु पर्ने कि विद्यालयलाई नै सार्नु पर्ने बोहोराले बताइन् । विद्यालयका शिक्षक ज्ञानबहादुर बोहराले महिनावारी भएको पाँच दिनसम्म छात्राहरू विद्यालय नआउने गरेको बताए ।
आफूहरूले विद्यालयमा आउन आग्रह गर्दासमेत अभिभावकहरूले विद्यालयमा नपठाउँदा र स्वयम् छात्राहरू नै महिनावारी भएको समयमा विद्यालयमा आउन नमान्दा यो समस्या पहिलेदेखि नै रहेको उनले बताइन् ।
विद्यालयमा छात्रा शौचालय नभएका कारण पनि समस्या भएको शिक्षक बोहोराको भनाई छ । यस विद्यालयमा वडा नम्बर १ देखि तीन दिनसम्म बालबालिका अध्ययन गर्न आउने गरेको स्थानीय बासिन्दा पिटर बोहराले बताए ।
साइपाल गाँउपालिकाका न्युना, धुली, लाफडी, काँडा, जगेरा, ज्याती, बाँझ चौका, गाउँ, माझा लासी, चुझाण, गमण्डी, लाछी, कोस्याणी, माझालासी, काया गाउँका सबै छात्राहरूको पढ्ने थलो यही विद्यालय रहेको बोहराले बताए ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले यो समस्या समाधान गर्नका लागि सुरूमा गाउँका सर्वसाधारणलाई जनचेतना फैलाउन आवष्यक रहेको बताउदै अहिले स्थानीय तह भइसकेपछि गाउँपालिका र वडाहरू बाट विभिन्न जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।