२४ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धरौटीमा रिहा भएका तीन जना युवालाई जिल्ला अदालत उदयपुरले वैशाख १२ गते बलात्कार प्रयासबाट सफाई दिई मुद्दा आशयकरणीमा परिणत गर्ने फैसला सुनाएको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले बेलका नगरपालिकाका–३ बुद्धचोकका २१ वर्षीय अमन लिम्बु, सोही ठाउँका २१ वर्षीय पाण्डव मल्ल र १९ वर्षीय पुरान राईलाई जबरजस्ती करणी उद्योगका लागि आवश्यक प्रमाण नपुग्ने ठहरसहित मुद्दालाई आशयकरणीमा परिणत गरी कारवाही प्रक्रिया अघि बढाउने गरी फैसला सुनाएको हो ।
पीडित युवतीलाई आरोपितत्रयले ०७४ फागुन २८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले फागुन २९ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिए । पीडित युृवतीको स्वास्थ्य परीक्षण फागुन ३० गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो ।
बलात्कार प्रयासपछि फरार रहेका उनीहरू ०७५ पुस १६ गते सिधै जिल्ला अदालतमा हाजिर हुन आएका थिए ।
हाजिर भए लगत्तै उनीहरुलाई अदालतले जनही ७५ हजार रुपियाँका दरले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।