पछिल्लो समयमा नेपालका विभिन्न जिल्लामा समाचार लेखेकै आधारमा पत्रकारहरूमाथि कुटपिट तथा धम्कीका घटनाहरू बढ्दै आएकामा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
यस्तो अवस्थाको अन्त्य नभएसम्म पत्रकारहरूलाई सामाजिक सरोकारका विषयमा खुलेर कलम चलाउने वातावरण नहुने सरोकोरवालाले बताएका छन् ।
महिला शसक्तिकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजना, भरतपुर महानगरपालिका–१० को आर्थिक सहयोग र अनौपचारक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनको समन्वयमा वैशाख १२ गते चितवनका क्रियाशील पत्रकारहरूबीच “नयाँ कानुनमा संचार पत्रकारिता र मानव अधिकारको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा भतरपुर महानगरपालिका–१० का वडा अध्यक्ष अरूणपीडित भण्डारीले पत्रकार भनेको समाज परिवर्तनको महत्वपूर्ण अंग भएको र सरकारले यसको सम्मान गर्न आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले कार्यपत्र प्रस्तुत गर्दै विद्युतीय अपराध ऐन २०६३ अनुसार पत्रकारहरूलाई समाचार लेखेकै भरमा नियन्त्रणमा लिन खोज्नु गैर संवैधानिक कार्य भएको बताए ।
त्यस्तै पत्रकार महासङ्घकी सदस्य सृजना अर्यालले पत्रकारहरू स्वच्छ र निर्भीक भएर कलम चलाउने अवस्था आएमा मात्र देशमा लोकतन्त्रको स्थायीत्व हुने बताइन् ।
नेपाल बार एशोसियसन चितवनका पूर्व अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारीले पछिल्लो समय पत्रकारहरू समचार लेखेकै आधारमा गिरफ्तारमा पर्ने गरेको भन्दै राज्यको निरकुंश गतिविधिको विरोध गरेका छन् ।

