बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गर्ने भएको छ ।
बेपत्ता पारिएको भन्दै आयोगमा धेरै सङ्ख्यामा निवेदन परेको हुँदा त्यससम्बन्धी अन्तिम छानविन गरी तथ्याङ्कलाई अद्यावधिक गर्ने आयोगले जनाएको छ ।
आयोगद्वारा वैशाख ९ गते दमौलीमा आयोजित सरोकारवालाहरूको बैठकमा आयोगका सहसचिव प्रेमकुमार श्रेष्ठले करिब २ हजार ५ सय व्यक्तिहरूलाई बेपत्ता पारिएको भनी आयोगमा उनीहरूका परिवारद्वारा निवेदन परेको हुँदा त्यसबारेमा थप छानविन पश्चात मात्र टुङ्गोमा पुग्न सकिने बताए ।
निवेदन परेका सबैलाई बेपत्ता पारिएकाहरूको सूचीमा राख्दा उनीहरूको परिवारलाई क्षतिपुर्ति, परिपुरण र दोषीलाई कारवाहीको सिफारिस गर्न समस्या पर्ने हुँदा अन्तिम छानविन पश्चात मात्र बेपत्ता पारिएका व्यक्तिहरूको सम्बन्धमा निर्णय हुने उनले बताए ।
अहिले आयोगमा पदाधिकारीहरू रिक्त भएको कारण बेपत्ता पारिएका व्यक्तिहरूको पहिचान सम्बन्धमा कठिनाई भएको र अब आयोगमा पदाधिकारी नियुक्ति भएपछि प्राप्त म्याण्डेट र समयअवधि भित्रैमा जिम्मेवारी पूरा गर्न सकिने सहसचिव श्रेष्ठले बताए ।
तनहँुमा सशस्त्र द्वन्द्वको क्रममा १९ जना व्यक्ति बेपत्ता पारिएको भनी हालसम्म राष्ट्रिय मानव अधिकार आयोग, रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसिआरसी), नेपाल रेडक्रस सोसाइटी, स्थानीय शान्ति समिति र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तथ्याङ्क सार्वजानिक गर्दै आएको र त्यही सङ्ख्याका पीडित परिवारले सरकारबाट उपलब्ध गराईएको अन्तरिम राहत प्राप्त गरेकोमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ३४ जना बेपत्ता भएको भनी निवेदन परेको आयोगले जनाएको छ ।
हालसम्म सार्वजानिक सूची भन्दा १५ जना बढीको निवेदन आयोगमा परेको हुँदा जिल्लाका सबै सरोकारवालाहरूले उनीहरूको बारेमा थप सूचना सङ्कलन गरी आयोगलाई सहयोग गर्न सहसचिव श्रेष्ठले अनुरोध गरे ।
बेपत्ता पारिएका सबैको परिवारले राहत पाउनु पर्ने तर गलत व्यक्तिको परिवारले राहत पाउन नहुनेतर्फ सबै सजग बन्नु पर्ने हुँदा यो कार्यमा राज्य र आयोगलाई सबै पक्षले सहयोग गर्नु पर्ने उनले बताए ।