INSEC Online

📅 २०८३ जेष्ठ २२

दलित भएकै कारण महायज्ञस्थलमा रोक

त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका ४१ वर्षीय प्रेम कुसुले सोही ठाउँ बस्ने ३५ वर्षीय मोहन कुसुले, ३५ वर्षीया अञ्जु कपाली र ३९ वर्षीया बालकुमारी कामीलाई सोही वडाका अध्यक्ष ६५ वर्षीय विष्णुभक्त श्रेष्ठ र तौथलीस्थित त्रिपुरासुन्दरी माइको मन्दिरमा पुजारी काम गर्ने सोही ठाउँका ६२ वर्षीय भैरव श्रेष्ठले आफूहरूमाथि सार्वजनिक स्थलमा जातीय विभेद गरेको भन्दै वैशाख ८ गते प्रहरी चौकी पिस्करमा आरोपितहरू विरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

त्रिपुरासुन्दरी माई मन्दिरको विकास र अक्षयकोष स्थापना गर्ने उद्धेश्यले वडा कार्यालयको आयोजनामा वैशाख ५ गतेदेखि मन्दिर परिसरमा श्रीमद्भागवत महायज्ञ सुरू गर्ने बेलामा त्रिपुरासुन्दरी–५ का वडा अध्यक्षले कामी, सार्की, दमाई, कुसुले र कपाली जातीहरूलाई प्रवेश निषेध गरेको भन्दै पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको पीडित प्रेम मोहन कुसुलेले बताए ।

दलित समुदायले कलशमा पानी लिएर महायज्ञस्थलमा आउँदा वडा अध्यक्षले प्रवेश गर्न नदिएको स्थनीय मोहनकुमार कपालीले बताए ।

उनका अनुसार दलित समुदायका केही व्यक्तिहरू पानी चढाउन मन्दिर नजिक पुग्दा वडाअध्यक्ष र दलित समुदाय बीच विवाद भएको थियो ।

महायज्ञको कलशयात्रामा साना जातीले कलश बोक्न नहुने भन्दै वडाअध्यक्ष विष्णुभक्तले भनेपछि वडा सदस्य अञ्जु कपालीले विरोध गरेको स्थानीयले बताए ।

छुवाछुतविरूद्ध प्रहरी चौकीमा उजुरी आएपछि घटनाबारे जानकारी लिन प्रहरी चौकी पिस्करबाट घटनास्थलमा पुग्दा दुवैपक्ष बीच हातपात सम्मको विवाद भएपछि यसरी विवाद नगर्नु भनेर दुवै पक्षलाई सम्झाई प्रहरीको टोली चौकीतर्फ फर्केको पिस्कर प्रहरी चौकीका हवल्दार राजु थामीले बताए ।

यसरी आएका प्रहरी टोलीले आरोपितहरू विरूद्ध कुनै पनि कारवाही नगरी फर्केर गएको भन्दै वैशाख ९ गते पीडितहरू जिल्ला प्रहरी कार्यालय चौतारामा आएको पीडित शुरेस कुसुलेले बताए ।

अन्य

भिडियो