एक दलित महिलालाई कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा पीडितले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाकी ४० वर्षीया सुकमरियादेवी सदालाई छिमेकी ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रञ्जित सादा र १९ वर्षीय सन्तोष सादासमेत मिली विभिन्न गाली गलौज गरी कपाल मुण्डन गरि दुर्व्यवहार गरेका छन् ।
टोलकै पुरूषहरूले मिलेर दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू सबै मिलेर कपाल मुण्डन गरी कुटपिटसमेत गरेका हुन् ।
विभिन्न वहानामा गाउँसमाजका कुरामा लागि वैशाख ६ गते राति ११ बजे आरोपितहरूले दुर्व्यवहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरूलाई वैशाख ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सई विगन यादवले बताए ।