बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले वैशाख ४ गते गिरफ्तार गरेको छ ।
सरकारी जग्गा भूमाफियाको कब्जामा परेको भन्दै त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाड्न वैशाख ४ गते बिहान पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित १७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेहरूमा थापासहित कार्यकर्ताहरू मिलन पाण्डे, शशिविक्रम कार्की, अमृत विष्ट, रमेश सिल्वाल, रामजी पन्त, पुरुषोत्तम ढुङ्गेल, शिव सत्यम्, दयाराम सापकोटा, विमल तामाङ, प्रमेश श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, विजयबाबु शिवाकोटी, छिरिङ तामाङ, रितेश यादव, सुन्दर न्यौपाने र प्रदीप ज्ञवाली रहेका छन् ।
प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा व्यक्तिका नाममा विक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीय सहित विरोधमा उत्रिएका थिए ।
बिरोधमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पौने १ बजे १७ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको थियो ।
करिब दुई घण्टासम्म थुनामा राखिएका उनीहरूले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउने नागरिकको हकमाथि हनन् भएको आरोप लगाएका छन् ।
देशभरका सरकारी जग्गा भूमाफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने अभियान सञ्चालन गर्नुपरेको दलका अध्यक्ष उज्वल थापाले जानकारी दिए ।
दलका नेता, कार्यकर्ताहरूले बालुवाटारमा रहेको १ सय १४ रोपनी सो जग्गा भूमाफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
थुनामा राखिएका विवेकशील नेपाली दलका नेता कार्यकर्ताहरूलाई प्रहरीले करिब दुई घण्टा पछि नै रिहा गरेको थियो ।