चिया क्षेत्रमा कार्यरत श्रमिकहरूले थालेको आन्दोलन १८ दिनसम्म पनि जारी रहेको छ । गत चैत १७ गतेबाट सुरू भएको आन्दोलनलाई श्रमिकहरूले वैशाख ४ गतेसम्म पनि जारी राखेका छन् ।
यति लामो आन्दोलन हुँदा पनि प्रशासन तथा अन्य सरोकारवाला पक्षले सम्बोधनको पहल नै नगरेको आन्दोलनकारीहरूले गुनासो गरेका छन् ।
सरकारले तोकेको दैनिक न्यूनतम ज्याला कार्यान्वयन गर्नुपर्ने माग राख्दै काम छोडेर आन्दोलनमा उत्रिएका श्रमिकहरूले इलाम र झापाका सातवटा बगानमा भने दैनिक नारा, जुलुस, कोण सभा र धर्नालाई निरन्तरता दिएका छन् ।
इलामका इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाको वर्ने, टोकला र बा¥हदशी चिया बगानमा श्रमिकहरूले न्यूनतम ज्याला पाउनु पर्ने अडान राख्दै धर्ना, नारा–जुलुस र कोण सभा गरिरहेका हुन् ।
वैशाख ४ गते इलामका सबै चिया बगानमा श्रमिकले नाराजुलुस गरे भने झापाको विर्तामोडमा थालसहितको जुलुस प्रर्दशन गरेका छन् ।
यी सात चिया बगान लिजमा लिने त्रिवेणी सङ्घाई समूहका अध्यक्ष सुवास सङ्घाईले सरकारले तोकेको नयाँ ज्यालादर कार्यान्वयन गर्न आफूहरूलाई कठिनाइ भएको बताए ।
बगानमा काम कम हुने भएकाले उद्योग भित्र भन्दा बाहिर बगानमा कार्यरत श्रमिकहरूलाई नयाँ ज्यालादर कार्यान्वयन गर्न समस्या भएको उनको भनाइ छ ।
श्रमिकको आन्दोलनका कारण ‘फस्ट फ्लस’ चिया प्रशोधन गर्न नपाउँदा व्यवस्थापन पक्ष दैनिक लाखौँ रुपियाँ घाटामा गएको उनले बताए ।