धवलागिरी गाउँपालिका–२ लुलाङकी १५ वर्षीया बालिकाले लमसुङ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत मिलन विकसँग विवाह गरिन् ।
एउटै विद्यालयमा अध्ययरत दुवैजना विवाह गरेपछि भने पढ्न विद्यालय आउन छोडे । नेपालको कानुन अनुसार २० वर्ष मुनिको विवाहलाई मान्यता नदिएपनि १६ वर्ष भन्दा पनि कम उमेरमा विवाह गर्नेको सङ्ख्या निकै बढ्दो छ ।
सोही गाउँपालिका–३ फलियागाउँकी १६ वर्षीया एक बालिकाले मालिका गाउँपालिका–५ देविस्थानका एक यूवासँग विवाह गरिन् । गाउँमै माध्यामिक तहमा अध्ययरत् बालिकाले विवाह गरेपछि उनको पनि अध्ययन रोकियो ।
केही मात्रामा परिवारको राजी खुसीमा विवाह हुने तर अधिकांश बालबालिकाले अहिले प्रेम विवाह गर्ने गरेको देखिन्छ । लुलाङमा मात्रै १८ बर्ष भन्दा कम उमेरका १४ जोडीले उमेर नपुग्दै विवाह गरेको गाउँपालिकाले जनाएको छ ।
विद्यालयमा पढ्ने बालबालिकाले एकपछि अर्कोगर्दै बालविवाह गर्न थालेपछि म्याग्दीको विकट लुलाङमा बालविवाहको विकराल बन्दै गइरहेको स्थानीयबासी बताउँछन् । बालविवाहका कारण सानै उमेरमा आमा बन्ने भएकाले स्वास्थ्यमा पनि समस्या देखिने गरेको छ ।
धवलागिरी गाउँपालिकाको लुलाङ, मुना, मुदी, मराङमा आधारभुत तहमै अध्ययरत विद्यार्थी समेत विवाह गर्न थालेपछि चुनौती नै सृजना भएको गाउँपालिकका उपाध्यक्ष रेशम छन्त्यालले बताए । जिल्लाको दुर्गम धौलागिरी गाउँपालिकामा बालविवाह जटिल समस्याको रूपमा खडा भएको छन्त्याल बताउँछन् ।
बालबालिकाको सहमतिलाई अभिभावकले तोड्न नसक्ने छन्त्यालको भनाई छ । उनका अनुसार बालविवाह गरेका जोडी नियमित विद्यालय नजाने, सानै उमेरमा सम्बन्ध बिच्छेद गर्ने, शारीरिक एवम् मानसिक रूपमा कमजोर हुने भएपनि जनचेतनाको अभावले न्यूनीकरणमा समस्या भएको छ ।
विपन्न समुदायका अभिभावकले छोरीलाई विद्यालयभन्दा विवाहको बाटो रोज्ने गरेकाले पनि कानुनले बर्जित गरेको बालविवाहलाई प्रोत्साहन मिलेको छन्त्यालको भनाई छ ।
छोरीलाई विवाह गरिदिएपछि झन्झटबाट मुक्त हुने भन्दै परिवारकै दबाबमा विवाह गर्नेलाई रोक्ने बालसञ्जालको प्रयासलाई समेत दवाउने प्रयासले समेत विगतमा गरिएका केही प्रयास असफल जस्तै भएका थिए ।
गाउँपालिकाभित्र बालविवाहको अवस्थाको स्थलगत तथा तथ्य सङ्कलनमा जुटेका छन्त्यालले बालविवाह रोक्न अभिभावक र बालबालिकाको सक्रियता प्रमुख आधार भएको बताए ।
उनले परम्परागत गलत संस्कार, जनचेतनाको कमी, गरिबी, अशिक्षाका कारण परिवारले नै दबाब दिने गरेको बताए ।
कलिलै उमेरमा विवाह गर्ने जोडीलाई रोक्ने गरी ‘उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष’ नामक अभियान सो गाउँपालिकामा सुरू भएको छ । धवलागिरीमा बालविवाह गर्नेको सङ्ख्या धेरै भएपनि गुपचुप राख्ने गरिएकाले आधिकारिक तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको जनप्रतिनिधिको भनाई छ ।
गाउँपालिकाले बालविवाह विरूद्धको अभियानका लागि चालु आर्थिक वर्षमा ३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिका भित्रका सबै वडामा जनचेतनामुलक अभियानसँगै बालविवाहमुक्त वडा घोषणा सहित वार्षिक कार्ययोजना, बाल सञ्जाललाई तालिम, अनुगमनलगायतका गतिविधि गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका सबै आधारभुत तथा मावि तहका विद्यालयमा सञ्जाल गठन, सञ्जालको विवाह हुने स्थानमा गस्ती, ‘विवाह जग्गेबाटै जोगाउ बालिका’, ‘बालिका दुलही होइनन्’ जस्ता नारा सहित गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि तिव्रताका साथ अभियान सुरू गर्ने अध्यक्ष छन्त्यालले जानकारी दिए ।
सानै उमेरमा विवाहपछि गर्भवती बन्दा स्वास्थ्यका दृष्टिले निक्कै समस्या भएपनि यस्तो समस्या म्याग्दीमा धेरै रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्यले बताए ।
सानै उमेरमा प्रजनन् अङ्गहरूको पूर्ण विकास नभइसकेको अवस्थामा मातृमृत्यु, शिशु मृत्युदर बढ्ने, पाठेघरको क्यान्सरलगायत यौनजन्य रोग लाग्ने भएकाले पनि समस्या हुने गरेको बताए ।
मुलुकी (संहिता) ऐन अनुसार बालविवाह गर्नेलाई तीन वर्ष कैददेखि ३० हजार रुपियाँ जरिवानाको व्यवस्था गरेको छ ।